अस्पतालबाट निवास फर्किए प्रधानमन्त्री ओली
काठमाडौं-स्वास्थ्यमा समस्या आएपछि कात्तिक १२ गते विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्य लाभ गरेर शुक्रबार साँझ सरकारी निवास वालुवाटार फर्किएका उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीलाई छातिमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
प्रधानमन्त्री ओलीलाई प्रा.डा.अरुण सायमीको संयोजकत्वमा प्रा.डा.दिव्या सिंह शाह र डा.सन्तकुमार दास सम्मिलित समूहले उपचार गरेको थियो ।
प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्यमा पूर्ण सुधार भएपछि निवास फर्कन अनुमति दिएका थिए ।