‘शाही शुक्रबार’ प्रदेश सर्दा स्थापितलाई झड्का
काठमाडौं÷नेपालको राजनीतिमा शुक्रबार अनौठो र अर्थपूर्ण हुने गरेको छ । शुक्रबारलाई विदेशमा गुडफ्राईडेको रुपमा लिइन्छ । नेपालमा राजा र महाराजाहरुले पनि त्यही सिको गरे । राजाहरुले शुक्रबारलाई खुशीयाली बारको रुपमा लिन थाले । त्यहीकारण मुलुकमा राजतन्त्र छउन्जेल हरेक शुक्रबार राजपरिवारका सदस्यहरुबीच जमघट र भोजभतेर हुन थाल्यो । दरबारमा वर्षोसम्म त्यो क्रम चल्यो ।
२०५८ साल जेठ १९ गते शुक्रबार दरबारमा आयोजना भइरहेको गुडफ्राइडे भोज अकल्पनीय र कहाली लाग्दो बन्न पुग्यो । त्यसदिन तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यसहितका राजपरिवारको बिवत्सपूर्ण हत्या भयो । त्यसयता नेपालको राजनीतिमा शुक्रबार एउटा सशंकित बार बन्न पुगेको छ । र यो बार कसैकसैको लागि अभिसाप समेत हुने गरेको छ । राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई चुनाव गराउन नसकेको तथा मुलुकमा शान्ति कायम गराउन नसकेको अभियोग लगाएर शुक्रबारकै दिन प्रधानमन्त्रीबाट बर्खास्त गरेका थिए । त्यसको केही महिनामा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द्रलाई २०५९ असोज १८ गते शुक्रबार नै पारेर प्रधानमन्त्रीमा नियुक्ति गरियो । त्यसपछि नेपालको राजनीतिमा शुक्रबारले उथलपुथल ल्याइरह्यो । शुक्रबार शाही कदम र निर्णय गर्ने बार अर्थात् निरंकुश बारको रुपमा परिचित हुन पुग्यो । त्यही कारण नेताहरु शुक्रबार सम्झँदा झस्किने अवस्था आयो ।
मुलुकमा गणतन्त्र आएपछि भने मुलुकको राजनीतिले शुक्रबारे पीडाबाट मुक्ति पाएको थियो । तर राजनीतिमा अहिले फेरि त्यो पीडा बहाली भएको छ । राजनीतिमा उहिल्यै केन्द्रमा हुने शुक्रबारे पीडा अहिले प्रदेशमा सरेको छ । त्यसको पहिलो शिकार राजनीतिमा चर्चित व्यक्ति केशव स्थापित भएका छन् । स्थापितको लागि शुक्रबार गणतन्त्रमा पनि ‘शाही बार’ बन्न पुगेको छ ।
स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले दुव्र्यवहारको अभियोग लगाएर शुक्रबार मन्त्रीबाट बर्खास्त गरेका छन् । मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख अन्तरगतको अधिकार प्रयोग गरी स्थापितलाई मन्त्रीबाट बर्खास्त गरेका हुन् ।
बुधबारको प्रदेश मन्त्रिपरिषद् बैठकमा समेत स्थापितले आफूलाई दुव्र्यहार गरेको मुख्यमन्त्री पौडेलको भनाई छ । स्रोतका अनुसार मन्तिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच भनाभन नै परेको थियो ।
मन्त्रिपरिषद्र चर्काचर्कीपछि मुख्यमन्त्री पौडेल स्थापितलाई मन्त्रीबाट हटाउन बिहिबार काठमाडौं आए । मुख्यमन्त्री पौडेल काठमाडौं आउना साथ अस्पताल पुगेर स्थापितलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्ती के.पी ओलीसँग अनुमति मागे ।
र प्रधानमन्त्री ओलीले यसबारे पछि पार्टीमा सल्लाह गर्ने भन्दै टार्न खोजे । स्थापितलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीले तत्कालै अनुमति नदिएपछि मुख्यमन्त्री पौडेलले त्यसको लागि महासचिव विष्णु पौडेलको सहारा लिए ।
महासचिव पौडेलले स्थापितलाई मन्त्रीबाट हटाउन आग्रह गरे । तर पनि प्रधानमन्त्री ओलीले स्थापितलाई हटाउन चाहेनन । त्यसपछि मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितलाई मिलाएर लैजाने सहमति भएको थियो ।
प्रधानमन्त्री ओलीले दुबै पक्षलाई मिल्ने योजना बनाइरहेको बेला पौडेलले मुख्यमन्त्रीको अधिकार प्रयोग गरेर स्थापितलाई मन्त्रीबाट हटाएका हुन् । नेपाल कम्युनिष्ट पार्टी्भित्र निकै बलियो मानिएका र ओली निकट भनेर चिनिएका स्थापित मन्त्रीबाट बर्खास्त भएपछि त्यसले पार्टीमा ठूलै तरङ्ग ल्याउने स्थिति देखिएको छ । किन भने प्रधानमन्त्री के पी ओली निकट व्यक्तिका रुपमा चिनिएका स्थापित नेपाल कम्युनिष्ट पार्टी्भित्र बलिया मानिन्छन् ।
पौडेललाई मुख्यमन्त्री बनाउन स्थापितको भूमिका छ । प्रदेश ३ को मुख्यमन्त्रीमा तत्कालीन एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको निर्विकल्प चर्चा भइरहँदा त्यसमा स्थापितले साथ नदिएकै कारण अप्रत्यासित ढंगले पौडेल मुख्यमन्त्री बन्नेका हुन् ।
विगतमा एमाले छोडेर विभिन्न पार्टी हुँदै संघीय समाजवादी फोरममा बरालिइरहेका स्थापितलाई पछिल्लो पटक ओलीले नै एमालेमा भित्र्याएका हुन् । ओलीले स्थापितलाई काठमाडौ महानगरपालिकामा पुन मेयर बनाउन आश्वासनसहित एमालेमा फिर्ता गराएको स्रोत बताउँछ ।
स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा अन्तिमसम्म पनि स्थापित र विद्यासुन्दर शाक्यको नाम चर्चामा थियो । लामोसमय एमाले छोडेका स्थापितलाई मेयर बनाउँदा पार्टी्भित्र चर्को आलोचना हुने र चुनाव जित्ने संभावना समेत क्षण भएपछि अन्तिममा शाक्यलाई उमेदवार बनाइएको हो । शाक्यलाई मेयरको उमेदवार बनाउँदा ओलीले स्थापितलाई मन्त्री बनाउने प्रतिवद्धता जनाएको स्रोतको भनाई छ ।
ओलीले स्थापितलाई मन्त्री पक्कापक्की गरे लगत्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भयो र एकीकरण प्रकृया अगाडि बढ्यो । तालमेलमा स्थापितको कार्यक्षेत्र काठमाडौ क्षेत्र नम्बर ६ माओवादीको भागमा पर्यो । अनि त्यहाँबाट स्थापित प्रतिनिधिसभा सदस्य बन्ने अवस्था आएन, प्रदेशसभातिर खुम्चनु पर्यो ।
मेयर हुँदै संघीय सरकारको मन्त्रीको सपना देखाएर प्रदेशमा खुम्च्याउन लागेपछि स्थापितले त्यसबेला ओलीसँग असन्तुष्टि जनाउँदै फेरि पार्टी छोड्ने चेतावनी समेत दिए । तर ओलीले प्रदेशमा सकेसम्म मुख्यमन्त्री नै बनाउने, यदि त्यो सम्भव नभए प्रदेश सरकारमा आकर्षक पद दिने प्रतिवद्धतासहित आश्वास्त पारेको स्रोत बनाउँछ । प्रधानमन्त्री ओलीको त्यही प्रतिवद्धताकै स्थापितलाई प्रदेश मन्त्री बनाइएको हो । तर मुख्यमन्त्री पौडेलले प्रधानमन्त्रीको ईच्छा विपरित हटाएपछि त्यसले अर्को समस्या पार्ने सक्ने स्थिति देखिएको छ । उता स्थापितले पनि यस बारे पार्टीको शीर्ष नेतृत्वसँग कुरा गर्ने बताएका छन् । स्थापित प्रदेशमन्त्रीको आइतबार चीन भ्रमणमा जाने तयारीमा थिए । तर मन्त्रीबाट फुत्काइएपछि उनी चीन नजाने भएका छन् । अन्य प्रदेशमा केही मन्त्रीहरु पनि विवादमा पर्न थालेका छन् । स्थापितपछि उनीहरुलाई समेत शाही झड्का लाग्ने सक्ने संभावना बढेको छ ।