बेरोजगारका ईष्ट, गोकर्ण बिष्ट

तत्कालिन गुल्मीको ईस्मा राज्यमा पञ्चायती शासकहरुको दवदवा थियो । जहाँ गरीव मजदुरहरुलाई ठाडो शिर लगाएर हेर्नु÷हिड्नु थिएन । त्यसबेला ती शासकहरुसंग जुध्नु–बोल्नु भनेको अहिलेको ठुलो क्रान्तिमा होमिनु थियो । त्यही क्रान्तिमा होमिने ब्यक्तिको नाम थियो हालको ईस्मा गाउँपालिका दोहली बाँझाका ‘कान्छा बिष्ट’ अर्थात भिमबहादुर बिष्ट ।
उनको २७ जनाका परिवार थियो । दम्पत्ती, ५ छोरा, ४ छोरी, भाइ–भतिजा सहितको त्यो परिवारलाई हरेक दिन ताउलोमा खान बसास्नु पर्दथ्यो । बिहान–बेलुका गुजरा चलाउन हम्मेहम्मे हुन्थ्यो उनलाई । कान्छा बिष्टका नामले गाउँमा चर्चित समाजसेवी बिष्ट रातमा बेसाह (अन्न पैचो, खरिद) गरेर ईज्जत ढाक्दै छोरा–छोरीलाई पढाउँदै थिए र सबै छोराहरुलाई उच्चशिक्षा हासिल गराए ।
उनै सामन्य परिबार तर त्यस बेलाका क्रान्तिकारी योद्धा कान्छा बिष्टले जन्माएका छोराहरु मध्येका आफु जस्तै क्रान्तिकारी स्वभावका छोराहरु थिए हालका ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र उनका भाई अर्थात श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्ट ।
दाजु लक्ष्मण बिष्ट जिल्ला जनस्वास्थ्य कार्यालयमा जागिरे भएपछि बाबृुलाई अन्य छोराहरु पढाउन सजिलो भएको थियो । तम्घासको महेन्द्र माविबाट एसएलसी पास गरेपछि पाल्पा त्रिविमा उच्चशिक्षा हाँसिल गर्न पुगेका गोकर्ण बिष्ट त्यहीबाट संगठित क्रान्तिकारी बनेका थिए ।
तत्कालिन मालेको बिद्यार्थी संगठनमा आबद्ध उनलाई पूर्व विद्यार्थी नेताहरुले नेतृत्वको जिम्मा दिएर आफुहरु हिडेको हाल गुल्मीको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली बताउँछन् । ‘उहाँमा त्यो उमेरदेखि नै नेतृत्वको अद्भुत क्षमता थियो’ पराजुलीले भने –‘हामीले उहाँलाई त्यहाँको बिद्यार्थी संगठनको जिम्मा दिएर हिडेका थियौं ।’
दाजु लक्ष्मण बिष्ट भन्छन् –“पाल्पा क्याम्पस पढ्दा–पढ्दै मैले पनि भाइलाई भने ‘अब तिमीले पनि केही काम गरेर पढ, मेरो खर्चले मात्रै थेग्न गाह्रो भयो ।’ त्यसपछि उनले लोक सेवामा नाम निकाले । तर कम्युनिष्ट कार्यकर्ता हो भन्ने थाह पाएर रुपन्देहीका तत्कालिन अञ्चालधिशले हाँजिर गराउनै मानेन । उनको पालो उनैका कार्यकक्षमा त्यो नियुक्ति पत्र च्यातेर हामीलाई सोद्धै नसोधी काठमाण्डौतिर लागे छन् ।”
दाजु बिष्ट गहभरी आँशु पार्दै थप्छन् –‘पछि थाह भयो, भाइ होटलमा जुठा भाँडा माझ्ने काममा लागेको छ भन्ने कुरा । म हुत्तिदै भाइ खोज्न काठमाडौं लागे । उनी दरवारमार्गको एक रेष्टुृरेण्टमा तीनै झुठा भाँडा माझ्दै गरेको देख्दा आँखा रसाए । त्यहाँबाट छुटाएँ । पछि उनि एउटा बोर्डिङ्गमा पढाउँदै पढाई अगाडी बढाएका हुन ।’
घरबाटै मजदुरी सुरु
सायदै मन्त्री बिष्टले त्यो ताकाको कुरा भुले होलान् वा अहिले त्यो कुराले उनको प्रतिष्ठामा आँच आउँछ भन्ने सोच्छन् पनि होला । तर जीवन संघर्ष र विगतलाई नभुल्दै जाने हो भने गोकर्ण बिष्ट बाल्यपनदेखि नै एउटा मजदुर हुन् । बाबु भिमबहादुर बिष्टले रातमा बेसाह खोजेर आएको यस पक्तिकारका पिताले समेत नजिकबाट नियालेका थिए ।
त्यति बेला गाउँमा सुनचाँदीका गहना बनाउनेहरुलाई ‘सुँदार’ भन्ने चलन थियो । गोकर्ण बिष्टका बाबुले यस पक्तिकारका पितासंग पोखेको दुःख अहिलेसम्म स्मरण गरिन्छ । बिष्टले भने छन् –“के गर्ने सुँदार, दिनमा बेसाह खोजम् भने गाउँको भलाद्मी बना’छन, खिशी गर्छन कि भन्ने लाग्नी, त्यही भएर अर्मझा, कल्यार तिरबाट कोदो मकै रातमा बोकेर ल्याई आँटीमा (घरको तलामा) फालेर दिनमा भलाद्मी बनेर हिड्छु ।”
उनको त्यही कुरा दोह¥याउँदै छोरा–छोरीलाई पढ्ने अभिप्रेरित गर्ने यस पक्तिकारका पिताले भन्नु हुन्थ्यो “कान्छा बिष्टका छोराहरुले कसरी पढेका छन् ? हाम्रालाई मात लागेको ।” हुन पनि हो, उनै कान्छा बिष्टका छोराहरुले विहान भरी घर खेतमा काम गरेर भ्याई नभ्याई स्कुल जान्थे ।
साईला अर्थात गोकर्ण बिष्टले त घरको उब्जेनी बढाउन त्यो किशोर अबस्थामा बाँझो खन्न गए । उनको टोललाई अहिले पनि बाँझ भनिन्छ । उनी एक्लैले घरदेखि तलको बाँझो जमिन खनेर प्रशस्त खेती हुने बारी बनाए । जुन बारीको पाटो अहिले पनि बिष्ट परिवारलाई गर्व गरेर देखाउने उर्वर जमिन बनेको छ ।
उनले लगतार एक महिना लगाएर विहानभरी खन्ने स्कुल जाने त्यहाँबाट फर्के पछि पनि साँझ अवेरसम्म खनेर त्यो बारी बनाएका थिए ।
बिष्ट अहिले पनि गाउँमा पुगेर भाषणका क्रममा बेलाबेलामा भन्ने गर्छन –‘म हिजो जस्तै आज पनि यहि खाउँमा खनी खर्सी गर्दैछु जस्तो लाग्छ । पात बजाएको गीत गाएको मेलापाता गरेको मेरो मानसपटलमा घुमिरहन्छ । म आफुलाई नेता ठान्दिँन तपाईहरुकै भाइ, छोरो हुँ भन्ने लाग्छ ।’
बिष्टको सफलताको यात्रा
२०५० साल तिरको कुरा हो । यो पक्तिकार उनलाई काठमाण्डौको बाघबजारमा भेट्न जाँदा बिष्ट र रविन्द्र अधिकारी प्ररायु संघको कार्यालयमा थिए । त्यतिञ्जेलसम्म अहिलेको जस्तो चर्चा बिष्टको थिएन । उनी प्ररायु संघको नेतृत्व सम्हालेदेखि एकाएक चर्चामा आउन थाले । २०५४ सालको निर्वाचनमा गुल्मी साविक क्षेत्र नम्वर ३ को चुनावी मैदानमा उनी लोकप्रिय पात्रका रुपमा उभिए । हेर्दै सेलिब्रेटी लाग्ने भर्खरको युवा तर भाषण पाको र जोसिलो भए पछि गोकर्ण बिष्टको चुनावी सभामा मानिसहरुको अपार भिड लाग्न थाल्यो । नेपाली कांग्रेसबाट उनका प्रतिद्वन्दी त्रैलोक्य प्रताव सेन थिए । उनि पनि कम त थिएनन् तर युवा जोस बिष्टको बढ्दो लोकप्रियताले ओझेला पारी दियो । चुनावी प्रचारको अन्तिम तिर बिष्टका कान्छा भाइ गगन बिष्ट माथि कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरे । उनकै घर नजिकै नयाँपोखरामा कांग्रेस कार्यकर्ताहरुले खुकुृरीले हात छिनालेर गम्भीर घाईते बनाए । त्यसपछि बिष्ट थप चर्चित भए ।
चुनावमा अत्याधिक मत सहित विष्ट बिजयी भए । त्यस क्षेत्रका लागि कम्युनिष्टहरुले विजयीको झण्डा गाडेको त्यो पहिलो थियो । २०६४ सालको निर्वाचनमा भने उनले तत्कालिन माओवादी नेता चन्द्रबहादुर थापा (सागर) संग पराजय भोग्नुु प¥यो । २०७० सालमा आएर उनले पुनः विजयको झण्डा गाडे । उनी विगतमा उर्जा मन्त्री हुँदा पनि अहिले कै जत्तिको चर्चा बटुल्ने गरी काम गरेका थिए ।
ऐतिहासिक काम
यसपाली मलेसियासंग श्रम सम्झौता गरिएको मन्त्री बिष्टको कामलाई सारा मिडियादेखि जनस्तरसम्म ऐतिहासिक कामका रुपमा चर्चा भईरहेको छ । बैदेशिक रोजगारमा नेपालीहरुले खेप्नु परेको शोषण, दमन र अत्यचारको अन्त्यका लागि मन्त्री बिष्टले कार्यभार सम्हालेदेखि खेल्दै आएको भुमिकाले उनलाई आलोचना गरेर नथाक्ने विपक्षी दल र उनकै पार्टीका केही तप्काहरु समेत यतिबेला नाजवाफ बनेका छन् ।
विगतमा उर्जामन्त्री हुँदा उनलाई सस्तो प्रचारवाजी भनेर आलोचना पनि गरियो । तर अहिले उनले प्रचार नगरीकनै बैदेशिक रोजगारको क्षेत्रमा अभुतपुर्व सफलता हाता पारे । पछिल्लो चरण मलेसियासँग गरिएको श्रम सम्झौतामा मात्र होईन उनले कार्यभार सम्हाले देखि जुनसुकै मुलुकमा आपद–विपदमा परेका नेपालीहरुको तत्काल उद्दार हुँदै आएको छ ।
बिदेशमा मृत्यु हुने नेपालीहरुको कुकुरको मराई जस्तै हुँदै आएकोमा उनले मृतकका परिवारलाई क्षतिपुर्ति राहत दिलाउँदै आएका छन् । मलेसियामा जान एक पैसा तिर्नु नपर्ने, त्यहाँ गएर काम पन नपरे अर्को कम्पन्नी फेर्न पाईने, आफ्नो पासपोर्ट आफै राख्न पाईने जस्ता तमाम सुविधा दिलाउन सफल गोकर्ण बिष्टको यति बेला घर–घर, चोक चोक र सामाजिक सञ्जालमा प्रशंसाको ओईरो छ ।
उनका स्वकीय सचिवालय सदस्य रमेश काउछाका अनुसार मन्त्री बिष्टले कार्यभार सम्हाले लगत्तै बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट विदेशमा मृत्यु हुनेहरुले ७ लाख रुपैयाँ राहत पाउने भएका छन् । बिदेशमा रहनेका एकाघरका सदस्यहरुको क्यान्सर, मृगौला लगायतका दीर्घरोगीहरुले उपचार खर्च स्वरुप ५० हजारसम्म आर्थिक सहयोग पाउने भएका छन् ।
मन्त्री विष्टका स्वकीय सचिव गणेश श्रीपाली भन्छन् –‘बिदेशमा कुनै आपद–विपदमा परेका नेपालीहरुले सुचना दिनुहोस् तत्काल उद्दद्धारमा मन्त्रालय जुट्ने छ । उनले जुनसुकै देशमा नेपाली माथि हुने गरेको समस्याबारे जानकारी गराउन आग्रह समेत गरेका छन् ।’
पार्टी भित्रैको चुनौतीलाई समेत प्रवाह गरेनन्
कार्यभार सम्हालेदेखि मेनपावरहरुको ठगी, दलाली र गैरकानूनी काम माथि मन्त्री बिष्टको हमला जारी रहँदै आयो । मेनपावर सञ्चालनको धरौटी रकम ह्वात्तै पढाए पछि र एक पछि अर्को सुधारका काम सुरु भएपछि पूर्व एमाले मै आस्था राख्ने बैदेशिक रोजगार ब्यवसायीहरुले घेरामा हाल्न खोजेका थिए ।
केही व्यवसायीहरु बिष्टलाई मन्त्रीबाट हटाउनु पर्ने दवाव दिन शीर्ष नेताहरुसम्म पनि पुगेको एक ब्यबसायीले बताए । त्यसका वावजुद पनि उनले अगाडी सारेको कामबाट पछि हटेनन् । बैदेशिक रोजगारमा हुने गरेको ठगी धन्दाको अन्त्य गर्न मन्त्री विष्ट लागि पर्दै आएका छन् ।
उनको आगामी कार्यकालमा मानव तस्करहरुको अन्त्य हुने अपेक्षा नेपाली युवाहरुले राखेका छन । सामाजिक सञ्जालमा एक युवा लेख्छन् ‘गोकर्ण बिष्ट गरिव बोरोजगारहरुका सच्चा ईस्ट हुन् ।’ सामाजिक सुरक्षको क्षेत्रमा बिष्टको कार्यकुशलाले पनि यहि देखाएको छ ।
मलेसियासँग भएको सम्झौता कार्यान्वयन हुन नदिन चलखेल शुरु भइसकेको छ । मेनपावर व्यवसायीहरुले निशुल्क कामदार पठाउन नसकिएन र कम्तिमा पनि कामदारको एक महिनाको तलव बराबरको सेवा शुल्क लिन पाउनुपर्ने माग गरिरहेका छन् । रोजगारदाता कम्पनीले दिएको कमिशनले मेनपावर चल्न नसक्ने दावी गर्दै व्यवसायीहरुले कामदार पठाउन नसकिने चेतावनी दिएका छन् । तर मन्त्री विष्टले आफ्नो योजना अनुसार श्रम सम्झौता गर्न सफलता प्राप्त गरे जसरी नै कामदार पठाउन पनि सफलता प्राप्त गर्ने स्पष्ट गरेका छन् । उनले मलेसियासँग भएको सम्झौता जसरी पनि कार्यान्वयन गरेरै छाड्ने स्पष्ट पारिसकेका छन् । यसले गर्दा गरीव वेरोजगार युवाहरु मन्त्री विष्टप्रति निकै आशावादी भएका छन् ।
त्यस्तै मन्त्री विष्टले विदेशमा मात्र होइन, स्वदेशमा पनि रोजगारी सिर्जना गरिने बताएका छन् । उनले स्वदेशी रोजगारी आफ्नो प्राथमिकता रहेको पनि बताएका छन् । युवा शक्तिलाई स्वदेशमा रोजगारी दिन सके देश विकास सँगै आर्थिक उन्नति हुने वताउँदै मन्त्री विष्टले आफू त्यसमा लागि परेको बताएका छन् । उनले कतारसँग पनि मलेसियासँग जस्तै श्रम सम्झौता गर्ने गृहकार्य शुरु गरेको बताएका छन् ।