नेपालमा लगानी गर्न कतारलाई आग्रह
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने कतार भ्रमण गरेर स्वदेश फर्किनु भएको छ । त्यहाँ उहाँले नेपालमा गरिएको लगानीले उच्च प्रतिफल दिने र लगानीको प्रतिफल फिर्ताको ग्यारेण्टी नेपाल सरकारले गर्ने बताउँदै लगानी गर्न आव्हान गर्नुभयो ।
राष्ट्रपति भण्डारीले मंगलबार नेपाल–कतार व्यवसायिक मञ्चलाई सम्वोधन गर्दै सो कुरा बताउनु भएको हो ।
सो कार्यक्रममा राष्ट्रपति भण्डारीले गर्नु भएको सम्वोधनको पूर्णपाठ ः
नेपालको राष्ट्रपतिको रूपमा हाम्रो असल मित्रराष्ट्र कतारको औपचारिक भ्रमणमा आएको छु । यहाँ आएर व्यवसायिक समुदायको यस मञ्चलाई सम्बोधन गर्न पाउँदा खुसी लागेको छ ।
नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष नाघिसकेको छ ।
यस अवधिमा नेपाल र कतारबीचको राजनीतिक तथा आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएको छ ।
नेपाल र कतारबीच श्रम सम्बन्धमात्र नभएर प्रविधि, लगानी, व्यापार तथा पर्यटन जस्ता आर्थिक कूटनीतिका विविध आयामहरूमा समेत राम्रो सम्बन्ध विस्तार भइरहेको जान्न पाउँदा मलाई धेरै खुसी लागेको छ ।
कतार नेपाली श्रमिकहरूका लागि राम्रो श्रम गन्तव्यको रूपमा रहेको छ ।
साथै, कतार नेपालबीच सीधा हवाई सम्पर्क र छोटो दूरीका कारण जनस्तरमा समेत राम्रो सम्पर्क रहेको छ ।
कतार एयरवेजले दोहा–काठमाण्डौ–दोहा प्रतिदिन चार–पाँचवटा उडान भर्ने गरेको छ भने नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले पनि काठमाण्डौ–दोहा प्रतिदिन एक एक वटा उडान भर्ने गरेका छन् ।
यसबाट नेपाल–कतारबीच आवागमन सहज हुनुका साथै अन्य मुलुकबाट आउने पर्यटकहरूको आवागमनमा पनि सहजता आएको छ ।
नेपालमा राजनीतिक स्थिरता कायम भई देश समृद्धि पथमा लागिसकेको कुरा व्यक्त गर्न पाउदा मलाई गौरवानुभूति भएको छ ।
तीव्र गतिमा विकासलाई अगाडि बढाउनका लागि हामीलाई प्रविधि र वित्तीय स्रोतको आवश्यकता छ ।
तपाईं कतारका व्यवसायी र लगानीकर्ताहरूलाई म आह्वान गर्न चाहन्छु ( तपाईँहरू अब नेपालमा लगानी गर्न आउनुहोस् । यहाँहरुले प्रत्यक्ष वैदेशिक लगानी वा नेपाली लगानीकर्तासँग मिलेर संयुक्त लगानी पनि गर्न सक्नुहुन्छ ।
यस सम्बन्धमा माननीय परराष्ट्र मन्त्रीले विस्तृतरूपमा प्रकाश पार्नुहुनेछ ।
म यति भन्छु कि नेपालमा गरिएको तपाईँको लगानीले उच्च प्रतिफल दिनेछ र लगानीको प्रतिफल फिर्ताको ग्यारेण्टी नेपाल सरकारले गर्नेछ ।
नेपालमा बहुराष्ट्रिय कम्पनीहरूले बिगतमा गरेको लगानीले राम्रो प्रतिफल दिएको उदाहरण छ ।
तसर्थ, ढुक्क भएर पर्यटन, उर्जा, कृषि, पूर्वाधार, र उत्पादनमूलक उद्योग आदिमा लगानी गरी भरपुर फाइदा उठाउन पनि म कतारी लगानीकर्ता मित्रहरूलाई आग्रह गर्दछु ।
राम्रो पूर्वाधार निर्माण गर्नसके नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्न सक्नेछ ।
त्यसैले नेपालमा पर्यटन पूर्वाधारको लगानी गर्दा उचित प्रतिफल दिने निश्चित छ ।
हिमालहरूबाट स्वच्छ पिउने पानी उत्पादन गरी निर्यात गर्ने प्रचुर सम्भावना पनि त्यत्तिकै रहेको छ ।
यसैगरी नेपालको भौगोलिक विविधताका कारण जैविक खेती, पशुपालन र मासु उत्पादनको ठूलो सम्भावना रहेको छ ।
कृषि, पशुपालन र मासु विकासको क्षेत्रमा साझेदारीलाई अगाडी बढाउन आजै मात्र दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भौगोलिक दूरीका हिसावले पनि कतार नजिक रहेकोले यहाँका व्यवसायीहरूले नेपालमा यस क्षेत्रमा लगानी गरी त्यस्को उत्पादन कतार ल्याएर उपभोग गर्न वा विश्व वजारमा बेच्न सक्ने सहज अवस्था छ । यसतर्फ ध्यान दिन म व्यवसायिक समुदायलाई आग्रह गर्न चाहन्छु ।
मलाई लाग्दछ, कतारमा पेशा, व्यापार तथा व्यवसाय गरेर बस्ने ठूलो नेपाली समुदाय छ । यस समुदायले यहाँको व्यवसायिक समुदायसँग निकट भएर काम गरेको छ । साथै, कतारमा भएको व्यवसायिक समुदायले पनि नेपाली समुदायसँग घुलमिल गरेको छ ।
तसर्थ, यस सम्बन्धलाई उपयोग गरी दुवै मुलुकको हितका लागि काम गर्न म यहाँ उपस्थित नेपाल र कतारका व्यवसायिक समुदायका सदस्यहरूलाई आग्रह गर्न चाहन्छु ।
म जोड दिन चाहान्छु– अनुकूल श्रम सम्बन्ध, सस्तो र युवा जनशक्तिको सहज उपलब्धता, झण्डै ३ करोड जनसंख्याको आन्तरिक बजार तथा छिमेकमा रहेका विशाल बजार तथा लगानीको सुरक्षाका लागि विभिन्न कानूनी र संस्थागत प्रबन्धहरुले नेपालमा लगानीलाई आकर्षक र सुरक्षित बनाएका छन् ।
यस्तो लगानीले दुवै देशको समृद्धिमा सहयोग पु¥याउनेछ र यसले दुईपक्षीय सम्बन्धलाई थप सुदृढ गर्नेछ । र अन्तमा, नेपाल र कतारबीचको सम्बन्ध अझ गाढा होस् र दुवै देशको सम्मान, पारस्परिक हित र समुन्नतिका लागि व्यवसायिक समुदायले पनि आफ्नो स्थानबाट सघाउ पु¥याउन सधै तत्पर रहोस् भन्ने कामना गर्दै यहाँहरूले यो कार्यक्रम आयोजना गर्नुभएकोमा धन्यबाद दिन चाहन्छु ।
धन्यवाद ।