१२६ घण्टा नृत्यमार्फत विश्व कीर्तिमान राख्ने बन्दनाको तयारी
काठमाडौँ-हालसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वल्र्ड रेकडर्स’ को तथ्याङ्कले देखाएको छ ।सुन्दा प्रायः असम्भव लाग्ने क्रियाकलापमार्फत विश्व कीर्तिमान राख्ने नेपालीको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । यसै सिलसिलामा धनकुटाको मूर्ति ढुङ्गा गाविस हाल महालक्ष्मी नगरपालिका–९ की १७ वर्षीय बन्दना नेपाल लगातार १२६ घण्टा लोक नृत्य प्रस्तुत गरेर विश्व कीर्तिमान राख्ने तयारीमा लागेकी छन ।
यसअघि लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय सङ्गीतमा नृत्य गरेर भारत केरलाकी कलामण्डलम हेमलथाको नाममा विश्व कीर्तिमान कायम भएको थियो । आगामी मङ्सिर ७ गते बिहान ७ बजेदेखि बत्तीसपुतलीस्थित बिग फुडल्याण्डमा आफूले नृत्य शुरु गर्ने बन्दनाले बताईन। उनले नेपालका विभिन्न मौलिक पहिरन र वेशभूषामा मारुनी, नौमती बाजादेखि सुदूरपश्चिमको देउडा गीतमा नृत्य प्रस्तुत गर्नेछिन ।
युवापुस्तामा विदेशी संस्कृतिको बढ्दो मोह र नेपाली मौलिक लोक गीत तथा लोकसङ्गीतप्रति उत्साह जगाउन आफ्नो नृत्य महत्वपूर्ण हुने बताउँदै उनले बताईन, हालसम्म सांस्कृतिक नृत्यमा विश्वमा कसैले पनि कीर्तिमान नराखेकाले मेरो सांस्कृतिक नृत्य विश्वमै पहिलो कीर्तिमान हुनेछ । लोक नृत्यका माध्यमबाट नेपाललाई विश्वमा चिनाउन आफूले साहस गरेको हो,उनले बताईन ।