रोकिएन सुन तस्करी

शनिबार विहान मात्र नागढुंगा प्रहरीले ३ केजी ६ ग्राम अवैध सुन बरामद गरेको छ

काठमाडौं, असार १८ । सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीका उच्च अधिकारीदेखि विभिन्न व्यक्तिहरुलाई हिरासतमा राखेर छानविन भइरहेको छ । ३३ केजी सुन तस्करी र सनम शक्यको हत्या प्रकरण छानविनका लागि बनेको उच्चस्तरीय समितिले सो काण्डबारे छानविन गरिरहेको छ । छानविनका क्रममा तीन वर्षको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३८ क्वीन्टल सुन तस्करी भएको तथ्य फेला परेको छ । त्यसबारे समितिले सुक्ष्म रुपमा छानविन गरिरहेको छ । सुन तस्करीका लगानीकर्ताहरु पनि पक्राउ पर्दै गएका छन् भने केही अझै फरार छन् ।
प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको छानविनबारे भइरहेका प्रगतिको अपडेट बेलाबेलामा लिने गरेका छन् । प्रधानमन्त्री ओलीले तस्करीमा संलग्न जोसुकैलाई पनि नछाड्न निर्देशन दिइसकेका छन् । सुन तस्करीमा राजनीतिक व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने आँकलन भइरहेका बेला प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेता पनि तस्करीमा संलग्न रहेको पाइए पक्राउ गरेर कारवाही गर्ने निर्देशन दिइसकेका छन् । गृहमन्त्री थापाले पनि सुन तस्करीको जरोकिलो उखेलेरै छोड्ने दावी गर्दै आएका छन् ।
यता सुन तस्करीको छानविन भइरहेकै बेला पनि सुन तस्करी भने रोकिएको छैन । शनिबार र आइतबार लगातार तस्करीको सुन वरामद भएको छ । शनिबार विहान मात्र नागढुंगा प्रहरीले ३ केजी ६ ग्राम अवैध सुन बरामद गरेको छ । काठमाडौंबाट तराई हिँडेको भारतीय गाडीबाट प्रहरीले सुन बरामद गरेको हो । युके ०२, ४६८४ नम्बरको गाडीको एयर फिल्टरमा राखेर लैजाँदै गरेको सुन बरामद भएको थियो भने आइतबार पनि नागढुंगामा प्रहरी तीन किलो सुन वरामद गरिएको जनाएको छ ।
सुनसँगै गाडीका चालक र अर्का एक भारतीय नागरिक फक्राउ परेका छन् । सुन र पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।