सर्वोच्चको फैसलाले अशान्त पाकिस्तान :आसिया बिबी कहाँ गइन्

पाकिस्तानमा- पाकिस्तानमा ईश्वर निन्दाको आरोपबाट मुक्त भएकी क्रिष्चियन महिला आसिया बिबी जेलबाट रिहा भएको उनका वकिलले बताएका छन् । आसिया बिबीका वकिल सैफ–उल–मुलुकका अनुसार आसियालाई मुल्तान शहरको जेलबाट रिहा गरिएको हो ।

तल्लो तथा मुख्य अदालतले मृत्युदण्डको फैसला गरेकोमा सर्वोच्च अदालतले त्यसलाई रद्द गर्दै आसिया बिबीलाई आरोप मुक्त गरेको थियो । रिहा भएकी आसिया बिबी विमानमार्फत पाकिस्तानबाट बाहिर गएका खबर पनि आएका छन् ।

तर उनी कहाँ गएकी छन् भन्ने केही थाहा भएको छैन । सर्वोच्च अदालतको फैसलाविरुद्ध पाकिस्तानका मुस्लिम कट्टरपन्थीले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीसँग सरकारले आसिया बिबीलाई देशबाट बाहिर जान नदिने बताएको थियो ।

प्रदर्शन चर्किँदै जाँदा आसियाका पतिले आफ्नो परिवारलाई पाकिस्तानमा जोखिम रहेको भन्दै अमेरिका, बेलायत, क्यानडासहितका देशसँग शरणका लागि अपिल गरेका थिए ।

आरोपको पृष्ठभूमि,
आसिया बिबीमाथि एक मुस्लिम महिलासँग कुराकानीको क्रममा पैगम्बर मोहम्मदका बारेमा आपत्तिजनक कुरा गरेको आरोप थियो । यो आरोप आसिया बिबीले स्पष्ट रुपमा अस्वीकार गरेकी छन् ।

पाकिस्तानमा ईश्वर निन्दा एक गम्भीर अपराध मानिन्छ । यहि कानुनको गलत प्रयोग गरेर अल्पसंख्यकलाई फसाउने गरिएको आपरो लाग्ने गरेको छ ।

यो घटना सन् २००९ को जुन १४ को हो, त्यो दिन आसिया बिबी गाउँका अरु महिलासँग काम गर्न गएकी थिइन् । त्यसक्रममा झगडा हुँदा उनले ईश्वरको निन्दा गरेको आरोप थियो । आसियाले यो घटनाका बारेमा पुस्तक लेखेकी छन् । यसमा उनले घटनाबारे बिस्तारमा बताएकी छन् ।

ईश्वर निन्दाको आरोपमा तल्लो अदालत र उच्च न्यायालयले मृत्युदण्डको सजाय सुनाएकोमा सर्वोच्च अदालतले आरोपबाट मुक्त गर्दै तत्काल रिहा गर्न आदेश दियो । आसिया बिबीले उच्च न्यायलयको फैसला विरुद्ध सर्वोच्चमा दिएको उजुरीमा गएको बुधबार फैसला आएको हो ।

पाकिस्तानी सर्वोच्च अदालतको तीन सदस्यीय बेन्चले अक्टोबर ८ मा फैसला सुरक्षित गरेको थियो । त्यहि फैसला बुधबार सुनाइएको हो ।

फैसला सुनाउँदै सर्वोच्च अदालतका मुख्य न्यायाधीश मिया साकिब निसारले उच्च न्यायालय र तल्लो अदालतको फैसला रद्द गरेको घोषणा गरे । उनले भनेका थिए, ‘आसिया बिबीलाई दिइएको सजाय सम्बन्धी फैसला अस्वीकार गरियो । यदी अरु कुनै आरोपमा उनीमाथि मुद्दा चलेको छैन भने तत्काल रिहा गरियोस् ।’