प्रहरी महिला संघद्वारा जनचेतनामुलक प्रभातफेरी

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो १७औं वार्षिकोत्सवको पुनित अवसरमा विभिन्न जनचेतनामुलक व्यानर तथा प्लेकार्डका साथ शनिबार जनचेतना मुलक प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
धुम्रपान–मद्यपान नगरौं, लैंगिकमैत्री वातावरण बनाऔं, नारीलाई आदर गरौं, कुरितीमा परिवर्तन ल्याऔं, शिक्षामा जोड दिऊँ, सभ्य समाजमा सकारात्मक सोच अपरिहार्य लगायतका जनचेतना मुलक नारा उल्लेख गरिएका व्यानर तथा प्लेकार्डसहित सकाठमाडौंको न्यूरोड गेटबाट सुरु भएको उक्त प्रभातफेरी विशाल बजार, इन्द्रचोक, वाङ्गेमुडा, क्षेत्रपाटी, ठमेल हुँदै जमल पुगेर समाप्त भएको थियो ।
सशस्त्र प्रहरीको वैण्डसहितको प्रभातफेरी कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी बलका उच्च अधिकृत तथा सशस्त्र प्रहरी कर्मचारीहरु, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकवर्ग एवं विभिन्न निकायका महानुभावहरुको सहभागिता रहेको थियो ।
उक्त प्रभातफेरी कार्यक्रमको अन्त्यमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले समाजसेवाको क्षेत्रमा विविध प्रकृतीका रचनात्मक कार्य गर्दैआएको सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो वार्षिकोत्सवको अवसर पारेर जनचेतना मुलक व्यानर तथा प्लेकार्डसहित प्रभातफेरी कार्यक्रमको आयोजना गर्नु प्रशंसायोग्य भएको बताउनुभयो ।
सो संघले गर्ने हरेक रचनात्मक कार्यमा सशस्त्र प्रहरी बलले सधैं सहयोग पु¥याउने चर्चा गर्नुहँुदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले लागूऔषधको समस्याबाट बच्न र बचाउन समाजका हरेक सचेत नागरीकले सधैं ध्यान पु¥याउनु पर्ने उल्लेख गर्नुभयो ।
लागूऔषध विरुद्धका व्यानर तथा प्लेकार्डसहित निकालीएको उक्त ¥यालीले स्थानीय स्तरमा जनचेतनामा अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुहँुदै उहाँले सशस्त्र प्रहरी बल नेपालले आफुलाई राज्यले सुम्पिएको जिम्मेवारी व्यावसायिक कूशलतापूर्वक पुरागर्दै विभिन्न प्रकृतीका सामाजिक कामकारवाहीमा समेत सहभागिता जनाउँदै आईरहेको उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो वार्षिकोत्सवको अवसरमा देशकालागि ज्यानको आहुती दिएका शहिदहरुको आत्माको चिर शान्तिको कामना गर्दै स्वयम्भूनाथ स्तुपामा शनिबार द्विप प्रज्वलन गरेको छ ।