सभामुखमाथि पिसेको खुर्सानी र पानीको बोतल प्रहार
श्रीलंका- श्रीलंकाली संसदमा नवनियुक्त प्रधानमन्त्री महिन्दा राजपाक्षेका समर्थक सांसदहररूले सभामुखमाथि किताब, पिसेको खुर्सानी र पानीको बोतल प्रहार गरेका छन्।
सभामुख कारु जससूर्याले राजपाक्षेविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्तावमा शुक्रबार मतदान गर्न खोजेपछि त्यसलाई रोक्न उनीहरूले यस्तो हर्कत गरेका हुन्।
शुक्रबार सबेरै राजपाक्षे समर्थकहररूले सभामुखको कुर्सीलाई घेरा हाल्दै बिहीबार चक्कु लिएर संसदभवनमा आउने विक्रमासिंघेका दलका दुई सांसदलाई पक्राउ गर्न माग गरेका थिए।
राजपाक्षेका दल पोदुजाना पेरेमुला पार्टीका एक सांसद सभामुख जयसूर्याको कुर्सीमा बसेका थिए भने उनलाई २० सांसदले घेरेका थिए। त्यसले संसदको प्रक्रिया सुरु गर्ने ढिलो भएको थियो।
राजपाक्षेका समर्थकहरूले जयसूर्याका प्रहरीले अर्को कुर्सी ल्याउन नदिने कोसिस गरेका थिए। एक सांसदले सो कुर्सीबाट कुसन निकालेर दुवै सभामुख र उनलाई सुरक्षा दिइरहेको प्रहरीमाथि पनि प्रहार गरेका थिए।
प्रहरीको उपस्थितिमा सभामुख जयसूर्याले कुन सांसदको कसलाई समर्थन छ भनेर नाम पढ्न थालेपछि राजपाक्षेका समर्थक सांसदहररूले किताब, पिसेको खुर्सानी र पानीको बोतल प्रहार गरेका थिए।
संसदका चिकित्सकहरूले शुक्रबारको घटनामा कम्तीमा ६ प्रहरी र ३ सांसद घाइते भएको बताएका छन्।
यो घटना भएपछि शुक्रबार राजपाक्षे र उनको सरकारविरुद्ध मतदान भएको छ। सभामुखले अपदस्थ प्रधानमन्त्री विक्रमासिंघेको समर्थनमा २ सय २५ सदस्यीय संसदमा १ सय२२ जनाको समर्थन रहेको बताएका छन्।
कात्तिक ९ को राति राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
सिरिसेना र राजपक्षे दुवैले संसदबाट पारित भएको अविश्वास प्रस्तावलाई नस्वीकार्ने बताइसकेका छन्।
अपदस्थ गरिएका प्रधानमन्त्री विक्रमासिंघले संसदको निर्णयलाई राष्ट्रपतिले नस्वीकारे ‘अराजकता’ उत्पन्न हुने चेतावनी दिएका छन्।‘हामीसँग बहुमत छ,’ उनले भने, ‘हामी सरकार गठन गर्छौं, त्यसैअनुसार काम गर्दैछौं।’
राष्ट्रपति सिरिसेनाले अपदस्थ गरेको विषयलाई असंवैधानिक भएको आरोप लगाउँदै आएका विक्रमासिंघले प्रधानमन्त्री निवास टेम्पल ट्रिज छाड्न अस्वीकार गर्दै आएका छन्।
सिरिसेनाका पार्टीको सांसद लक्षण यापा अवेय्वादेनेले राष्ट्रपतिले अविश्वास प्रस्तावलाई अस्वीकार गरेको बताएका छन्। अब संसदको बैठक सोमबार बस्ने तालिका छ।
राजपाक्षेले भने चाँडै चुनाव हुनुपर्ने माग गरिरहेका छन्।