मङ्सिर ३ गते सार्वजनिक बिदा
सिन्धुली-दूधौली नगरपालिकाले हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन मङ्सिर ३ गते सार्वजनिक बिदा दिइएको छ ।
उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की एकादशीका रुपमा विशेष पर्व मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख धनश्याम राउतले जानकारी दिए ।
नेपाल सरकारबाटै लोपन्मुख जातिमा सूचीकृत सो समुदायको धर्म जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व भएको बताइएको छ । यसअघि दनुवार समुदायले हरिबोधनी एकादशीमा बिदाको माग गर्दै आएका थिए ।
स्थानीय सरकारले सार्वजनिक बिदा दिन पाउने प्रावधान भए पनि सिन्धुलीमा यो पहिलो बिदा हो । नगरपालिकामा बसोवास गर्ने बहुसङ्ख्यक आदिवासी दनुवार जातीको विशेष पर्व भएको र नगरकार्यपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिइएको प्रवक्ता रितेश राउतले जानकारी दिए ।
दनुवार समुदायले मात्र नभइ नगर क्षेत्रमा बसोवास गर्ने अन्य समुदायले पनि हरिबोधनी एकादशीलाई पर्वका रुपमा मनाउने गरेकाले बिदा दिइएको होे ।