‘गाङनाम स्टाइल’का विश्व चर्चित गायक साई नेपाल आउँदै

काठमाडौं । चर्चित गीत ‘गाङनाम स्टाइल’ का गायक पीएसवाई (पार्क जेइ साङ) साई नेपाल आउने भएका छन् । दक्षिण कोरियाली गायक पार्कको गीत ‘ग्याङनम स्टाइल निकै चर्चित भएको थियो ।
नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुन साई नेपाल आउन लागेको बताइएको छ । १५ डिसेम्बर (मंसिर २९) गते पीएसवाई विथ के–पप लाइभ इन नेपाल नाम दिइएको कन्सर्टमा उनी सहभागी हुने छन् । खुमटारमा रहेको रेडियो नेपालको मैदानमा सो कन्सर्ट हुने बताइएको छ ।
साईका साथै दक्षिण कोरियाबाट अन्य गायक÷गायीकाको टोली आउने बताइएको छ । ५ घन्टा चल्ने कन्सर्टमा नेपालको तर्फबाट दीपक बज्राचार्यसहित अन्य गायक गायीकाको प्रदर्शन रहने बताइएको छ ।
साई ’गाङनाम स्टाइल’बाटै संगीतको दुनियामा छाएका हुन् । यसअघि उनी दुई एल्बम निकालेर पनि खासै चर्चा पाएका थिएनन् । उनलाई ‘गाङनाम स्टाइल’ले भने विश्व संगीतको शिखरमै पु¥याइदियो । ‘गाङनाम स्टाइल’ हालसम्म विश्वमै धेरैपटक हेरिएको म्युजिक भिडियो हो । सन् २०१२ मा सार्वजनिक भएको ग्याङनम स्टाइल गीत तीन अर्व २३ करोड भन्दा धेरैले हेरिसकेका छन् ।