सामुदायिक विद्यालयमा सुधार- निजी विद्यालय बन्द
पर्वत- जिल्लामा सामुदायिक विद्यालयले शैक्षिक सुधार गरेपछि निजी विद्यालय बन्द भइरहेका छन् । निजी विद्यालय बन्द भएर सामुदायिक विद्यालयमा गाभिने क्रम दक्षिण पर्वतको बिहादी गाउँपालिकामा शुरु भएको हो ।
गाउँपालिकाले सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन गराउन थालेपछि निजी विद्यालय छाडेर विद्यार्थीहरु सामुदायिक विद्यालयमा आउन थालेका छन् । शहरी क्षेत्रमा धमाधम सामुदायिक विद्यालय बन्द भइरहेका छन् र निजी विद्यालय खुलिरहेका बेला पर्वत जिल्लामा भने यसको विपरीत देखिएको छ ।
गाउँपालिकाले एक कक्षादेखि तीन कक्षासम्म अनिवार्य अङ्ग्रेजी माध्यममा पढाउन थालेका छन् । चालु शैक्षिक सत्रदेखि गाउँपालिकाभित्र रहेका ३२ सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन थालेको छ । अनिवार्य अङ्ग्रेजी, विज्ञान र गणित विषय अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ ।
सामुदायिक विद्यालय खाली हुँदै गएपछि जबर्जस्ती सुधारका लागि विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन थालेका हौँ । सामुदायिक विद्यालयमा विद्यार्थी नआउने र अङ्ग्रेजी पढाउनकै लागि अभिभावकले बालबालिका बोकेर बजार झर्न थालेपछि एकैपटक सबै विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन शुरु गरिएको गाउँपालिकाका गाउँ शिक्षा अधिकृत कृष्णप्रसाद आचार्यले बताए ।
गाउँपालिकाले अङ्ग्रेजी माध्यममा विद्यालयमा पढाउन शुरु गरेपछि बिहादी–२ बर्राचौरको बिहादी बोर्डिङ स्कुल बन्द भएको छ भने वडा नं १ बाच्छाको जनकल्याण माविमा नजिकका विद्यार्थी आएपछि त्यहाँको बोर्डिङ पनि बन्द हुने अवस्थामा पुगेको छ । तीन कक्षासम्म चलेको विहादी बोर्डिङ यसवर्षदेखि बन्द भएको छ । विद्यार्थी धेरै नजिकैको आम्बारी माध्यामिक विद्यालयमा गएका छन् ।
एकातिर विद्यालय बन्द भएको छ भने त्यही विद्यालयमा सामुदायिक विद्यालयका कक्षा सञ्चालन भइरहेका छन् । अङ्ग्रेजी माध्यममा पढाउन थालेपछि विद्यार्थी बढ्दै गएका छन्, प्रअ पौडेलले बताए। सामुदायिक विद्यालयले कक्षा एक भन्दा तल्लो तहबाट अङ्ग्रेजीमा पढाउन शुरु गर्दा अझै प्रभावकारी हुने देखिएको छ । एकैपटक तीन कक्षामा अङ्ग्रेजी पढ्न विद्यार्थीलाई पनि कठिन भएको छ भने शिक्षकले समेत पढाउन कठिन मानिरहेका छन् ।