रामपुरमा पक्की पुलको शिलान्यास
पाल्पा । पाल्पाको रामपुर नगरपालिका– ५ र ६ जोड्ने बहखोलामा पक्की पुल शिलान्यास गरिएको छ । तालपोखरा चिप्लेढुंगा सडकखण्डअन्तर्गत पर्ने बहखोलामा निर्माण हुन लागेको पक्की पुलको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले एक कार्यक्रमका विच शिलान्यास गरेका छन् ।
नगर प्रमुख थापाले गाउँको विकासका लागि सडक, बिजुलीको अति आवश्यक रहेको बताउँदै तालपोखरा, विजयपुर, किसानबारी, बेझाड बजार क्षेत्रलाई विकास गर्न अब रिङरोडको अवधारणाअनुसार काम गरिने बताए । पर्यटकीय क्षेत्र तालपोखरासँग जोडिएको हुँदा पनि यहाँ पुल निर्माण भएपछि तालपोखरा घुम्न आउने पर्यटकको आवतजावतमा ठूलो राहत मिल्ने प्रमूख थापाको भनाई छ ।
पुल निर्माणका लागि नगर प्रमुख थापाले नगरपालिकाबाट रु पाँच लाख सहयोग गर्ने घोषणा समेत गरेका छन् । रु एक करोड १९ लाखको लागतमा १० मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको पक्की पुल निर्माण गर्ने समितिका सचिव भरतराज देवकोटाले बताए । पुल निर्माण भएपछि स्थानीयहरुलाई घाँस दाउरा, मेलापात र आवतजावतमा सहज हुने भएको छ ।