नेकपाका नेताहरुनै सरकार र पार्टीको कार्यशैली प्रती असन्तुष्ट
काठमाडौं– पार्टीको कार्यशैली प्रति नेकपाकै नेताहरुले असन्तुष्टि जनाएका छन्। पार्टी र सरकार सञ्चालनप्रति असन्तुष्टि जनाउँदै बुधबार पार्टी महासचिव विष्णु पौडेललाई ज्ञापन पत्र बुझाएका छन्,ज्ञापनपत्र बुझ्दै महासचिव पौडेलले बेलैमा सचेत गराएकोमा धन्यवाद दिए ।
पाँच पृष्ठ लामो ज्ञापन पत्रमा देश, जनता र पार्टीको हित रक्षाका लागि ध्यानाकर्षण गराउनु परेको उल्लेख गरिएको छ ।
कार्यकर्तामा उत्साह र जनतामा भरोसा जागृत गराउन आवश्यक रहेको भन्दै पार्टी र सरकारका राम्रो र नराम्रा कामको समिक्षा गर्न जरुरी भएको बताएका छन् ।
ज्ञापनपत्रमा डा.विजयकुमार पौडेल, जगन्नाथ खतिवडा, शत्रुधन महतो, ममता गिरी, जयन्ती राई, गरिमा साह, भाष्कर काफ्ले, रामकुमारी झाँकी, निरज आचार्य, प्रमलकुमार खनाल, मधव अर्याल, विजय गुरुङ, तुलबहादुर गुरुङ, यदुवंश झा, रचना खड्का, विरोध खतिवडा, रविन कोइराला, पशुपति चौलागाई, मेट्मणि चौधरी, विश्वनाथ प्याकुरेल र ठाकुर गैरेले हस्ताक्षर गरेका छन् ।
उनीहरुले गल्ती र कमजोरी ढाकछोप गरे ठूलो क्षती व्यहोर्नु पर्ने तर्फ सचेत गराउँदै पार्टीका विभिन्न तहगत कमिटिमा समिक्षा गर्नु पर्ने माग गरेका छन् । नेतृत्वमा इमानदारिता र जवाफदेहिताको अठोट भए समिक्षा संभव रहेको जनाएको छ ।
नेतृत्वले तत्काल असन्तुष्टि मत्थर बनाउन कमजोरी भएको र अब नगर्ने बताउने गरेको तर व्यवहारमा मिचाहा शैलीलाई नै पुनरावृत्ति दिने काम गर्दै जाने हो भने समाधान ननिसकने उनीहरुले बताएका छन् ।
पार्टी नेतृत्वले स्वेच्छाचारी ढंगबाट काम गर्ने तथा सरकारलाई निजी तथा मन पर्ने मानिसको मात्र घेराबन्दीमा राख्ने हो भने जनतामा असन्तुष्टि झन्झन् बढ्दै जाने र जनता तथा पार्टीलाई गम्भीर असर पर्ने विज्ञाप्तचीमा उल्लेख छ ।
सरकारलाई जनउत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउन उनीहरुले विभिन्न सुझाव समेत दिएका छन् । असन्तुष्ट नेताहरुले पार्टीको बैठक नियमित गर्न, सचिवालयलाई सर्वेसर्वा नबनाउन, निश्पक्षढंगले क्षमताअनुसार जिम्मेवारी दिन र छरितो प्रत्रियाबाट पार्टी एकीकरणको काम टुङ्ग्याउन सुझाव दिएका छन् ।
सरकार र संसदीय दल सञ्चालनमा हस्तक्षम नगर्न, सुशासन कायम गर्न, सादा जीवनशैली र आचरणबारे ध्यान दिन र वैचारिक दिशावोध गर्न राजनीतिक प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन्।