नबिल बैंकले खातावालालाई तीन लाख बराबरको बीमा सुविधा
काठमाडौँ- नबिल बैंक लिमिटेडले आफ्ना खातावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ ।
सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर भयो । उक्त योजनालाई बैंकले ‘नबिल केयर’ नाम दिएको छ ।
बैंकले रु २५ हजारको व्यक्तिगत बचत खातावालालाई अर्वुद, हृदयाघात, मिर्गाैला खराबी, कोमा, स्ट्रोक, मुटु भल्भ सर्जरी, हेपाटाइसिस, एप्लास्टिक एनीमिया, गम्भीर कोरोनरी धमनी रोग, उच्च रक्तचाप, प्रमुख अङ्ग एवं बोनम्यारो प्रत्यारोपणजस्ता घातक रोगको उपचारार्थ रु तीन लाख बराबरको बीमा गरेको हो ।
ती रोगमध्ये कुनै पनि एक घातक रोग लागेको निवेदनउपर निदानसहितको आवश्यक प्रमाण पूरा भएको अवस्थामा बीमा रकम तुरुन्त भुक्तानी हुनेछ । बचतकर्ता अन्य कारणले निधन भएमा रु ७५ हजारको बीमाङ्क रकमसमेत सो योजनाले सुरक्षित गरेको छ ।
घातक रोग लागेर निधन भएमा रु तीन लाख ७५ हजार बरारको सुरक्षण हुनेछ । बैंकले सो आयोजनाअन्तर्गत शनिबारसम्म रु २५ हजार वा सोभन्दा बढी मौज्दात रहेका आफ्ना सम्पूर्ण व्यक्तिगत बचत खातामा आवद्ध भएकाको बीमा गरिसकिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए ।