धर्मबारे जनमत संग्रह गर्न महामन्त्री कोइरालाको माग
महासमितिमा छलफल गराउने
काठमाडौं । नेपाली कांग्रेसको समर्थनमा नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको हो । तर सो पार्टीका धेरै नेता नेपाल हिन्दु राष्ट्र नै हुनुपर्ने पक्षमा देखिन्छन् । पार्टीका महामन्त्री डा. शशांक कोइरालाले पटकपटक हिन्दु राष्ट्रका विषयमा स्वतन्त्र रुपमा जनमत संग्रह हुनुपर्ने बताएका छन् ।
खुमबहादुर खड्काले त एक दवाव समूह बनाएर नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने भन्दै पार्टी र सरकारलाई दवाव दिदै आएका थिए । उनको अभियानमा पार्टीका प्रभावशाली नेताहरु कुलबहादुर गुरुङ, गोविन्दराज जोशी, तारानाथ रानाभाट, लक्ष्मणप्रसाद घिमिरेलगायतले साथ दिदै आएका थिए । खुमबहादुरको निधनसँगै यो एजेन्डा सेलाएको थियो । तर महामन्त्री डा. कोइरालाले यसलाई वहसमा ल्याउन खोजिरहेका छन् । महामन्त्री कोइरालाले यो विषय महासमिति वैठकमा लैजान तयारी गरेको पनि एक नेताले बताएका छन् । महासमितिमा यो विषयले प्रवेश पाए नेपाल हिन्दु राष्ट्र हुनुपर्ने निर्णय हुन सक्छ । किनकि कांगे्रस नेता, कार्यकर्ता हिन्दु राष्ट्रकै पक्षमा छन् ।
इन्जिनियर कुमार भट्टराईको भजन संग्रह ‘शिव लीला’ र ‘अग्रता काली’को विमोचनका क्रममा शुक्रबार डा.कोइरालाले धर्म स्वतन्त्र नहुने बताउँदै ‘धर्म निरपेक्ष राख्ने कि हिन्दु धर्म राष्ट्र राख्ने ?’ भन्ने विषयमा जनमत संग्रह हुनुपर्ने दोहोर्याएका छन् ।
सो कार्यक्रममा महामन्त्री डा. कोइरालाले भने ‘जसले धर्मलाई स्वतन्त्र मान्छ, ऊ व्यक्ति नै स्वतन्त्र हुन्छ ।’ हिन्दु धर्म जस्तो स्वतन्त्र अन्य कुनै पनि धर्म नभएको दावी गर्दै महामन्त्री कोइरालाले धर्म आफैभित्र खोज्न हिन्दु धर्मले स्वतन्त्रता दिएको बताए ।
‘राजनीतिक स्थिरता आइसकेपछि धर्मका बारेमा जनमत संग्रह हुनुपर्छ,’ भन्दै महामन्त्री कोइरालाले धर्म सापेक्ष वा निरपेक्षबारे जनमत संग्रह गर्नुपर्ने आम जनताको धारणा रहेको बताउँदै त्यसलाई सम्वोधन गर्न सवै पार्टी तयार हुनुपर्ने बताए ।
९४ प्रतिशत भन्दा बढी हिन्दु र वौद्धलगायत ॐकार परिवारका अनुयायी भएको देशमा संविधानमा धर्मनिरपेक्ष राष्ट्र लेखिएकोमा धेरैलाई चित्त बुझेको छैन । संविधान घोषणा हुनुअघि लिइएको सुझावमा ९० प्रतिशतले नेपाललाई हिन्दु राष्ट्र नै कायम राख्नुपर्ने मत जाहेर गरेका थिए ।
हिन्दु राष्ट्र वा धर्म निरपेक्षको जनमत संग्रह गर्दा राजनीतिक दलको हस्तक्षेप हुन नहुने वताउँदै महामन्त्री कोइरालाले भने ‘जनतालाई स्वतन्त्र छाडिदिनुपर्छ । मेरो मत हिन्दु राष्ट्रको पक्षमा रहन्छ ।’
वीपी कोइरालाका पुत्र समेत रहेका महामन्त्री कोइरालाले कांग्रेसको १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताजस्ता विषयमा पुनर्विचार गर्नुपर्ने बताएका थिए । उनको त्यो विचारले नयाँ वहसको रुप लिएको थियो ।
२०६२÷०६३ सालको आन्दोलनको सेरोफेरोमा नेपाली कांग्रेसका तत्कालिन नेता गिरिजाप्रसाद कोइरालाले माओवादीसँग सहकार्य गर्दै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता स्वीकारेका थिए भने कोइरालाको त्यो लाइन गलत हो भन्दै संस्थापक नेता कृष्णप्रसाद भट्टराईले पार्टी नै परित्याग गरेका थिए ।