कांग्रेसको विधान केन्द्रीय समितिमा पेश (प्रस्तावित विधानको पूर्णपाठ सहित)

नेताहरुबीच विवाद कायमै / अर्को वैठक १३ गते

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिको प्रतिवेदन पेश भएको छ ।
विधान अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको छ।
मस्यौदा समितिले मस्यौदा तयार गर्दा विधान मस्यौदाका क्रममा आएका फरक विचारहरुलाई समेत राखेर प्रस्तुत गरेको छ ।
सदस्यहरुले अध्ययन गरेपछि मंसिर १३ गते बस्ने केन्द्रीय समितिमा छलफल गरेर संशोधन सहित मंसिर २८ देखि शुरु हुने महासमिति बैठकमा पेश गरिने भएको छ । महासमितिले पारित गरेपनि विधान कार्यान्वयन हुनेछ ।

प्रस्तावित विधान मस्यौदामा केन्द्रीय सदस्यको संख्या ८५ बाट बढाएर १ सय ४१ पुर्याउने उल्लेख गरिएको छ ।
पार्टीका पदाधिकारी संख्या र निर्वाचन पद्धतिबारे नेताहरुबीच चर्को मतभेद छ । पार्टीभित्र चर्को विवाद सदस्यतामा देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुले सदस्य र मताधिकार प्राप्त सदस्य रहने प्रावधानको वकालत गरेका छन् । यो मूल प्रस्तावअनुसार पार्टीमा क्रियाशील सदस्य हुँदैनन् । तर, पौडेल पक्षले सदस्य र क्रियाशील सदस्य रहने विद्यमान प्रावधान नै राख्नुपर्ने दावी गर्दै आएका छन् ।
त्यस्तै पदाधिकारी संख्या र निर्वाचन पद्धतिमा पनि विवाद छ । सुरुमा पार्टी सभापति शेरबहादुर देउवा पक्षधर आफैं पदाधिकारी संख्या बढाउने पक्षमा थिए । तर, अहिले यो समूहका नेताहरु अहिलेकै कायमै राख्न सहमत भएका छन् । पौडेल पक्षले उपसभापति, महामन्त्री र सहमहामन्त्री ३÷३ हुनुपर्ने र सबै पदाधिकारी निर्वाचित हुनुपर्ने मत अघि सारेका छन् । दुई उपसभापति राख्न र त्यसमा एउटालाई प्रशिक्षणको जिम्मा दिएर अर्कोले पार्टी सभापति नहुँदा वा सरकारमा जाँदा कार्यवाहक चलाउने उनीहरुको प्रस्ताव छ ।
संसदीय समिति गठनमा निर्वाचित र मनोनितको अनुपातमा पनि सहमति जुट्न सकेको छैन । देउवा समूहका नेताहरुले पदाधिकारीबाहेक ६ जना मनोनित र ४ निर्वाचित हुने प्रस्ताव गरेका छन् । तर, पौडेल पक्षले निर्वाचित धेरै हुनुपर्ने बताउँदै आएका छन् ।
केन्द्रीय कार्यसमितिको संख्या टुंगिएपनि सभापतिले मनोनित गर्ने केन्द्रीय सदस्यको संख्यामा देउवा र पौडेल पक्षबीच विवाद छ ।
विधानअनुसार महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद चार वर्ष हुन्छ तर, विशेष परिस्थितिमा एक वर्षसम्म थप गर्न सकिन्छ । अब भने विशेष परिस्थिति भनेर पार्टी सभापतिले म्याद थपको प्रस्ताव ल्याउँदा केन्द्रीय कार्यसमितिको सर्वसम्मत वा दुई तिहाईले पास गर्नुपर्ने प्रस्ताव पौडेल पक्षको छ । यसमा पनि सहमति जुट्न सकेको छैन ।
महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ । यसअघि उक्त बैठक मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा बोलाइए पनि आवश्यक तयारी नपुगेको भन्दै सारिएको थियो ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकको तयारी तीव्र गतिमा भइरहेको बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले महासमितिमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज एवं पार्टीको आर्थिक नीतिका सम्बन्धमा प्रदेशस्तरीय अलगअलग छलफल सम्पन्न भएको बताए ।
पार्टीको विधानमा समसामयिक संशोधनका लागि देशमा १२ स्थानमा केन्द्रीकृत ढंगले सुझाव संकलन गरिएको वताउँदै प्रवक्ता शर्माले केन्द्रीय समितिको सहभागितासँगै महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला नेतृत्व, भातृ एवं शुभेच्छुक संस्थाको नेतृत्व तथा शुभचिन्तक बुद्धिजीवीहरुको विचार समाविष्ट गरी छलफलबाट सबै दस्तावेज निर्माण अन्तिम चरणमा पुगेको बताए ।
महामन्त्रीद्वारा प्रस्तुत गरिने सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्षको प्रतिवेदन तयारी अन्तिम चरणमा पुगेको पनि प्रवक्ता शर्माले बताएका छन् ।
महासमिति बैठक तयारीकै मुल विषयमा केन्द्रित रहेर आजको केन्द्रीय समितिको बैठक बोलाइएको बताउँदै प्रवक्ता शर्माले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रस्तावित मस्यौदा बैठकमा पेश हुने बताए । केन्द्रीय समितिले अनुमोदन गरेपछि महासमितिमा पेश गरिने उनले बताएका छन् ।
यता पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला, शशांक कोइराला, शेखर कोइरालालगायतका नेताहरुले विधानको मस्यौदाप्रति असन्तुष्टि जनाएका छन् । सभापति देउवाले हुकुमी शैलीमा पार्टी सञ्चालन गरेको पौडेल पक्षका नेताहरुको आरोप छ । पार्टी नेतृत्व संस्थामुखी नभएर व्यक्तिमुखी भएको भन्दै उनीहरुले हुकुमी शैली आपूmहरुलाई मान्य नभएको टिप्पणी गर्दै आएका छन् ।
सामूहिक नेतृत्वमा चल्नुपर्ने पार्टी व्यक्तिमुखी हुँदा सबैतिर भद्रगोल भएको भन्दै नेताले सभापति देउवाले आफ्नो कार्यशैली सच्याउनु पर्ने बताएका छन् । आगामी वैठकमा पनि उनीहरुले असन्तुष्टि जनाउने संकेत गरेका छन् । यसले गर्दा विधान मस्यौदा परिमार्जन हुन नसक्ने एक नेताले बताएका छन् । वैठकमा नेविसंघको म्याद बढाएको विषयमा पनि कुरा उठ्ने बुझिएको छ । महामन्त्री शशांक कोइरालाले दुई महिनामा नेविसंघको महाधिवेशन हुन नसक्ने वताएका छन् ।

नेपाली कांग्रेसको बिधान मस्याैदा