विश्व बैंकको प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीको आपत्ति

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विश्व बैंकको नेपालसम्बन्धि पछिल्लो प्रतिवेदनप्रति आपत्ति जनाएका छन् । विश्व बैंकले हालै नेपालको ‘डुईङ बिजनेस’ कमजोर हुँदै गएको दावीसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
जापानको साताव्यापी भ्रमणपछि शुक्रबार स्वदेश फर्किएका मन्त्री ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै विश्व बैंकको सो प्रतिवेदन यथार्थपरक नरहेको उल्लेख गर्दै त्यस सम्बन्धमा नेपाल सरकारले विश्व बैंकको ध्यानाकर्षण गराएको बताएका छन् ।
नेपाल व्यापार र लगानीको दृष्टिले गत वर्षभन्दा नीतिगत, कानुनी प्रबन्ध, संरचनालगायतका सबै दृष्टिले सुधारोन्मुख रहेको दावी गरेका छन् । विश्व बैंकले नेपाल ‘डुईङ« विजनेस’मा १ सय १० औं स्थानमा रहेको देखाएको छ । अघिल्लो वर्ष १ सय ५ औं स्थानमा थियो । सोही प्रतिवेदन यथार्थपरक नभएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पनि गत हप्ता नै असन्तुष्टि जनाईसकेका छन् ।