चर्चामा आउन आयुष्मान र प्रियंकाको फण्डा
काठमाडौं । नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की लामो प्रेम पछि विवाहको तयारीमा छन् । विवाहका लागि टिकाटालो (इंगेजमेन्ट) गरिसकेका उनीहरुले विवाह कहिले गर्ने भन्ने मिति भने सार्वजनिक गरेका छैनन् । चलचित्रदेखि सार्वजनिक कार्यक्रममा समेत प्रायः सँगै देखिने यो जोडी आफ्ना दैनिक क्रियाकलापहरु शुभचिन्तकहरु समक्ष सामाजिक सञ्जाल फेसवुक, इन्ष्टाग्राममार्फत सार्वजनिक गर्दै आएका छन् ।
केही दिनअघि प्रियंकाले एक तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन् । बेलाबेलामा फन्डा गरेर चर्चामा आउने यो जोडीको हालै सार्वजनिक तस्बिरलाई पनि धेरैले फण्डाकै रुपमा लिएका छन् । आयुष्मान र प्रियंकाले एक होटलको स्वीमिङ पुलमा खिचेको तस्बिर सार्वजनिक गरेसँगै फेरि चर्चामा आएका छन् । तस्बिरमा दुवैजना एक अर्कासँग रमाइरहेका छन् । स्विमिङ पुलमा आयुष्मानले प्रियंकालाई उचालेका तस्बिर अहिले चर्चामा छ ।
यो तस्बिर बाहिरिएसँगै धेरैले उनीहरुको मिडियामा छाउने कलाका रुपमा समेत व्याख्या गरिरहेका छन् । कतिपयले भने चलचित्र प्रचारको नयाँ शैलीका रुपमा उनीहरुको यो पोजलाई लिइरहेका छन् । खिचेको तस्विर सार्वजनिक गरेका छन् । तस्बिर निकै आकर्षक र रोमाञ्चक छ । आयुष्मानले प्रियंकाको कम्मरमा समातेर माथि उठाएका छन् । जसको क्याप्सनमा प्रियंकाले लेखेकी छन्, ‘सबै चीजमा सन्तुलन हुनु भनेको नै खुसी हुनु हो ।’
प्रियंका र आयुष्मानले अभिनय गरेका दुई फिल्म ‘कथा काठमाण्डू’ र ‘चंगा चेट’ प्रदर्शन भइसकेका छन् भने यतिबेला ‘प्रेम दिवस’को छायाँकनमा उनीहरु व्यस्त छन् । योगेश घिमिरेको निर्देशन र संजय न्यौपाने निर्माता रहेको यो चलचित्रको छायांकन पूर्वका विभिन्न रमणीय स्थलहरुमा भइरहेको छ ।
यो चलचित्रमा प्रियंका सपनाको भूमिकामा छिन् भने आयुष्मान सागरको भूमिकामा छन् । म्युजिकल लभस्टोरी कथामा बनेको यो चलचित्र चैत्रको दोस्रो हप्ता प्रदर्शन हुने निर्माताले बताएका छन् ।