२१ जनाले ल्याए नेकपामा भुइँचालो
प्रचण्डको दोहोरो भूमिकाले ओली ‘वाक्क’
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पोलिटव्यूरो गठन पहिले गर्ने कि केन्द्रीय सदस्यको कार्यविभाजन भन्ने विषयमा शीर्ष नेताहरुबीच चर्को मतभेद छ । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल केन्द्रीय सदस्यको कार्यविभाजन पहिले टुंग्याउने पक्षमा देखिएका छन् भने माधव नेपाल र झलनाथ खनालले पोलिटव्यूरो गठन गरेपछि मात्रै कार्यविभाजन गर्नुपर्ने दावी गरेका छन् ।
नौ जनाको सचिवालयमा अध्यक्षद्वयका पक्षमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल उभिएका छन् । नेपाल र खनालका पक्षमा प्रवक्ता नारायणकाजी श्रेष्ठ उभिएका छन् । तर रामबहादुर थापा र वामदेव गौतम तटस्थ देखिएका छन् । एमाले पृष्ठभूमिका नेताहरुलाई आपसमा जुधाएर आफू फाइदा लिने मनस्थितिमा रहेका प्रचण्डले दुवै पक्षका नेताहरुलाई उकासेको नेताकार्यकर्ताको टिप्पणी छ ।
पार्टी एकीकरण भएको ६ महिना बितिसक्दा पनि प्रदेश र स्थानीय तहमा एकीकरण हुन नसकेको भन्दै तल्लो तहका कार्यकर्ता निरास बन्दै गएका छन् । सरकारको कार्यशैलीप्रति केन्द्रकै कतिपय नेताको असन्तुष्टि देखिएको छ । यी सबै कुराको व्यवस्थापन समयमै नगर्ने हो भने केन्द्रमा देखिएको समस्या प्रदेश र तल्लो तहसम्म फैलिने र पार्टीलाई त्यसले मनोवैज्ञानिक रुपमा शिथिल बनाउन सक्ने पार्टीका वुद्धिजीवीहरुले चेतावनी दिएका छन् ।
उता पार्टी नेतृत्वसँग असन्तुष्टि रहेका २१ केन्द्रीय सदस्यले आफूले शुरु गरेको आन्दोलन निरन्तर अगाडि बढाउने भएका छन् । नेतृत्वपंक्तिबाट आफ्ना माग सुनुवाई हुनुपर्ने भन्दै उनीहरुले पार्टीको नेतृत्व विधि र प्रक्रियाले चल्नुपर्ने उनीहरुको सुझाव छ । बुधबारको नेकपाको सचिवालय वैठकले सात वटै प्रदेशको कमिटीको नाम टुंगो लगाएपनि मापदण्ड नपुगेका मानिसलाई राखिएको भन्दै केही नेताले आपत्ति जनाएपछि त्यसमा करेक्सन शुरु भएको बताइएको छ ।
विवाद देखिएपछि बिहीबार सार्वजनिक गरिने भनिएको नाम स्थगित गरेर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले विष्णु पौडेल र रामबहादुर थापालाई राखेर पुनः नाम छाँटकाँट गर्न थालेका छन् ।
२१ केन्द्रीय सदस्यहरुले मङ्सिर ५ गते पार्टीभित्रका बेथितिलाई लिपिबद्ध गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेर एक ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले बुझाएको ज्ञापनपत्रले नेकपामा एक प्रकारको तरङ्ग नै ल्याएको छ । आफ्ना माग पूरा गर्न दवाव दिन २१ केन्द्रीय सदस्यहरू पार्टीका वरिष्ठ नेताहरुको घरदैलो पुगिरहेका छन् । केहीदिनअघि अध्यक्ष दाहाललाई भेटेर उनीहरुले छलफल गरेका थिए । सो अवसरमा प्रचण्डले २१ नेताको माग सकारात्मक भएको र त्यसबारे सचिवालयमा छलफल गर्ने बताएका थिए ।
त्यस्तै उनीहरुले बिहीबार पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भेटेका थिए । सो भेटमा नेता श्रेष्ठले आफूले पनि बारम्बार पार्टीलाई विधि र पद्धतिमा चलाउन माग गरिरहेको बताउँदै आफ्नो माग सुनुवाइ नभएको गुनासो गर्दै अध्यक्षद्वयको कार्यशैलीप्रति सन्तुष्ट जनाएका छन् ।
२१ केन्द्रीय सदस्यहरू सरकार र पार्टी सञ्चालन प्रक्रिया वैज्ञानिक, पारदर्शी र समन्वयका आधारमा नभएको, नेकपा राजनीतिक र साङ्गठनिक रूपमा शिथिल भएको भन्दै तत्काल बैठक बोलाउन माग गरेका छन् । त्यस्तै तत्काल पोलिटब्युरो गठन गर्नुपर्ने, सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने, स्थायी कमिटीलाई कार्यकारी बनाउनुपर्ने र पार्टीका सबै कमिटीको एकीकरण निश्चित मापदण्डका आधारमा टुङ्ग्याउनु पर्ने माग गरेका छन् । पार्टी एकता प्रक्रियामा विलम्ब, जिम्मेवारी बाँडफाँडमा मनोमानी, योग्यताका आधारमा भूमिका र जिम्मेवारी वितरणमा न्याय नभएको समेत ज्ञापनपत्रमा उल्लेख छ ।
जिम्मेवारी वितरणमा हदैसम्म पक्षपातपूर्ण व्यवहार गरिएको र कसैलाई काममाथि काम तथा अवसरमाथि अवसरको बोझ थपिएको र कसैले कुनै काम नदिइएको गुनासो गरेका छन् ।
सचिवालयका नाममा गरिएको प्रदेशस्तरको कार्य विभाजनले पक्षपातको सीमा नै नाघेको वताउँदै उनीहरुले विधि हेरेर होइन, व्यक्ति हेरेर दोहोरो चरित्र देखिने गरी मुख्यमन्त्री तथा सांसदहरूलाई प्रदेशको पार्टी कामको कार्यकारी जिम्मेवारी प्रदान गरिएको आरोप लगाएका छन् ।
पार्टी एकतापछि केन्द्रीय सदस्यदेखि स्थायी कमिटी सदस्यहरूलाई कामविहीन बनाइनु, पार्टी कामप्रतिको हदैसम्मको लापरवाही र असफलता देखिएको वताएका छन् भने सरकार सुदृढ र लोकप्रिय हुन नसक्दा नेपालका कम्युनिस्टलाई उत्साहित बनाउन नसकेको गुनासो गरेका छन् ।
त्यस्तै २१ सदस्यीय टोलीले यसअघि सचिवालयका अन्य नेताहरूसँग पनि भेट गरिसकेको छ । उनीहरुले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम समेतलाई भेटेर आफ्ना माग पूरा गर्न दवाव दिएका छन् । उनीहरुका मागप्रति ऐक्यवद्धता जनाउँदै नेताहरुले ज्ञापनपत्रमा उल्लेख भएका सबै जायज मागलाई सम्बोधनका लागि आफूहरूले पहल गर्ने प्रतिवद्धता जनाएपछि अध्यक्षद्वय केही नरम भएको पाइएको छ ।
नेकपाका केन्द्रीय सदस्यहरू डा. विजयकुमार पौडेल, ठाकुर गैरे, जगन्नाथ खतिवडा, शत्रुघन महतो, ममता गिरी, जयन्ती राई, गरिमा शाह, भाष्कर काफ्ले, प्रेमलकुमार खनाल, निरज आचार्य, रामकुमार झाँक्री, विजय गुरुङ, माधव अर्याल, तुलबहादुर गुरुङ, यदुवंश झा, रचना खड्का, विरोध खतिवडा, रवीन कोइराला, पशुपति चौलागाईं, मेटमणि चौधरी, विश्वनाथ प्याकुरेलले ज्ञापन पत्र बुझाएका हुन् ।
त्यस्तै पार्टीमा गुटउपगुट फस्टाएको छ । नेकपामा स्पष्ट रुपमा तीन वटा गुट देखिएका छन् भने उपगुटहरु बढ्दै गएका छन् । अध्यक्षद्वयका आआफ्नै गुट छन् भने अर्का नेता माधव नेपालको छुट्टै गुट छ । झलनाथ खनालले भने गुट चलाउने इच्छा देखाएका छैनन् भने कुनै गुटपछि पनि ढल्किएका छैनन् । पार्टी नेतृत्वको चर्को आलोचना गर्दै ज्ञापन पत्र बुझाउन २१ जना केन्द्रीय सदस्य माधव गुटका हुन् ।
अध्यक्ष प्रचण्डले दोहोरो भूमिका खेलिरहेको बुझिएको छ । अध्यक्ष ओली र वरिष्ठ नेताहरुसँग फरकफरक कुरा गर्ने मात्र होइन प्रचण्डले असन्तुष्टहरुलाई पनि उचाल्ने काम गरिरहेको एक नेताले बताएका छन् । प्रचण्डको दोहोरो भूमिकाले अध्यक्ष ओली दिक्कवाक्क भएको उनी निकट एक नेताले बताएका छन् ।
पार्टीभित्रको विवाद चुलिदै गएपछि पार्टीको शक्तिशाली मानिएको स्थायी कमिटीको वैठक नै वस्न सकेको छैन । सरकार र पार्टी निर्णयमा नेताहरूले प्रश्न उठाउन सक्ने देखिएपछि पाँच पटकसम्म स्थायी किमिटीको बैठक स्थगित भइसकेका छ । पार्टीभित्र स्थायी कमिटीको बैठक आह्वान गर्न दवाव परेपनि अध्यक्षद्वयले नजरअन्दाज गर्दै आएका छन् ।