शान्तिपुरमा पक्की पुल शिलान्यास

गुल्मी । गुल्मीको चोरकाटे रुपाकोट हुँदै शान्तिपुर जोड्ने सडक खण्डको हरेवा खोलामा पक्की पुल बनाउन सुुरु गरिएको छ । उक्त पुलको मंगलवार विहान प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिलान्यास गरेका छन् ।
प्रदेश ५ भौतिक पुर्वाधार विकास मन्त्रालय, यातायात पुर्वाधार निर्देशनालय अन्तर्गत राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण ( एसएनआरटिआर) कार्यक्रम तम्घास गुल्मीद्धारा ३ करोड ६७ लाख ४ हजार ६ सय ३७ रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त पुलको मन्त्री बरालले शिलान्यास गरेका हुन् ।
शान्तिपुरमा मोटरबाटो खुलेको यतिका बर्ष सम्म पनि हरेवा खोलामा पुल बन्न नसकेकोले त्यस भेगका जनताले बर्षायाममा ठुलो सास्ती खेपेको स्मरण गर्दै मन्त्री वरालले अब पुल बन्न सुरु भएकोमा चन्द्रकोटवासीलाई बधाई दिए ।
उनले विकास निर्माण समयमा सुरु नहुने, सुरु भएपछि पनि समयमै काम नहुने र गुणस्तर पनि नहुने भन्दै त्यस पुल निर्माणको जिम्मा पाएका भागवत गिरीबाट त्यस्तो कार्य नहुने बिश्वास ब्यक्ति गरे ।
उनले सम्झौता अनुसारको गुणस्तरसहित समय अवधी भित्रै काम सम्पन्न हुने आफुले अपेक्षा राखेको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका मन्त्री वरालले भने–‘प्रदेश सरकारको तर्फबाट प्रत्येक स्थानिय तहसम्म पुगेका मोटरबाटोहरुलाई पिच गर्ने लक्ष्य लिइएको छ । सोही अनुरुप यस बर्ष चोरकाटे देखि शान्तिपुर सम्मको मोटरबाटो पिच गर्नका लागि प्रदेश सरकारबाट दुई करोड परेको छ , अब काम छिट्टै सुरु हुन्छ । उता तुराङ्गवासी मजुवा गेखुङ्ग शान्तिपुर मोटरबाटो खोल्न ढिलाई हुँदा निकै समस्यामा परेका छन् । उक्त मोटरबाटो पनि यसै बर्ष सम्पन्न हुने गरी निर्माण कार्य सुरु हुँदै छ ।
शान्तिपुरदेखि बाग्लुङ्गको बरेङ्ग सम्म जोड्ने मोटरबाटो पनि क्रमशः पिच गरिने छ । उता स्याङ्गजा वालिङ्ग हुँदै पुर्तिघाट, शान्तिपुर हुँदै प्युठान भालुवाङ्ग सम्म पु¥याउने लक्ष्य लिईएको मोटरबाटो पनि निर्माण गर्ने क्रममा छ । हिजो विकासका दृष्टिले कुनामा परेको चन्द्रकोटलाई अब नयाँ ढंगले विकास गरिदैछ ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का जिल्ला नेता तथा स्थानियवासी युवराज केसीका अनुसार चन्द्रकोटका जनप्रतिनिधी, स्थानिय राजनैतिक दलका नेताहरुले माग गरे अनुरुप नेकपाका नेता तथा केन्द्र सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली र प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन वरालको बिशेष पहलमा हुग्दीखोला शान्तिपुर पक्की पुल, हुग्दीखोला मजुवा पुल, हुग्दीखोला पुल, बढिघाट खोला पुल बनेका हुन् ।
खैरनी जोहाङ्ग पुल र लिम्घाको लुङ्दीखोला पुल पनि उनिहरुकै पहलमा बन्दै गरेको केसीले बताए । उनले मजुवा गेखुङ्ग शान्तिपुर मोटरबाटोका लागि यस बर्ष १ करोड ३१ लाख रुपैयाँ परेको, शान्तिपुर हर्मीचौर ओलीवाङ्ग मोटरबाटो स्तर बृद्धिका लागि १ करोड ६० लाख रुपैयाँ विनियोजन भई काम सुरु भएको जानकारी दिए ।
यातायात पुर्वाधार निर्देशनालय प्रदेश ५ तम्घास गुल्मीका ईञ्जिनियर विनोद चौधरीले समयमै गुणस्तरिय काम गराउने प्रतिबद्धता जनाएका थिए । निर्माण ब्यबसायी भागवत गिरीले पनि आफुले सम्झौता अनुरुपको काम गर्ने बताएका थिए ।
शिलान्यास कार्यक्रममा चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्री, उपप्रमुख राधिका अर्याल लगायतको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण चन्द्रकोट गाउँपालिका कार्यालयका प्रमुख कृष्णप्रसाद भण्डारीले गरेका थिए ।