कृषिमा अब्बल सत्यवतीः किशानलाई गाडीसम्म अनुदान

गुल्मी । प्रदेश ५ का १०९ वटा स्थानीय सरकारमध्ये कृषि उत्पादन र पशुपालनलाई ब्यवसायीकरण गर्नमा गुल्मीको सत्यवती गाउँपालिका सरकार अब्बल देखिएको छ । उसले दुर्गम गाउँको कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि गाडी समेत गाउँपालिकाले खरिद गरेर किसानहरुलाई दिएको छ ।
त्यस गाउँपालिकाको सबै भन्दा दुर्गम गाउँ वडा नम्वर ३ को ठुलो लुम्पेकमा यस बर्ष साढे १२ लाख रुपैयाँ गाउँपालिकाबाट छुट्टाएर ढुवानीका लागि गाडी खरिद गरेर त्यहाँको तरकारी बुटवल सम्मको बजारमा पु¥याउन सुरु भएको छ ।
‘अघिल्लो बर्ष त्यस वडाको सिर्जनशिल कृषि समुह लगायत सयौं किसानहरुले उत्पादन गरेको तरकारी ढुवानी गर्ने गाडीको अभावमा सडेर खेर गयो, –गाउँपालिका प्रमुख पारिश्वर ढकालले भने –‘ त्यस पछि हामीले त्यहाँका किशानलाई निरास नपार्न साढे १२ लाख गाउँपालिकाले छुट्टाउने र बाँकी किशानले ब्यहोर्ने गरी गाडी खरिदको प्रकृया अगाडी सारेर खरिद गरी उनिहरुलाई दिए पछि अहिले त्यहाँको तरकारी बुटवल बजारसम्म पु¥याउन सकिएको छ ।’
उनका अनुसार वडा नम्वर ३ को ठुलोलुम्पेक गाउँमा गत बर्ष ३ सय टनेलमा तरकारी खेती गरिदै आएकोमा यस बर्ष थप २ सय टनेल टमाटर खेतीका लागि रकम छुट्टाईएको छ । टमाटरका अलवा काउली, बन्दा, सिमी लगायतको तरकारीमा १५ वटा समुह र सयौं युवा ब्यवसायीक रुपले क्रियाशिल रहेका छन् ।
जनजाती वस्ती ठुलोलुम्पेकमा बङ्गुर, कुखरा पालन र औलो वनस्पतीबाट कपडा उत्पादन पनि हुँदै आएको छ । यस बर्ष २ सय क्विन्टल तरकारी त्यहाँबाट बुटवल बजारमा विक्रि वितरण भई सकेको छ । त्यस्तै वडा नमवर १ अस्लेवाको चौरफाँटमा एउटै गह्रामा २५ मुरी धान फल्ने खेतहरुमा अहिले उक्त परम्परागत खेती छाडेर किशानहरुले ब्यवसायीक तरकारी खेती सुरु गरेका छन् ।
त्यस गाउँका युवा अर्जुन कनौजेले बार्षिक २० लाख भन्दा बढिको तरकारी खेतीमा कारोवार गर्ने गरेका छन् । उक्त वडालाई विउ विजन उत्पादनको भण्डारका रुपमा बिकास गर्न लागिएको पालिका प्रमुख ढकालको भनाई छ । वडा नम्वर २ चेहमी गाउँमा अण्डा उत्पादनका लागि लोयर जातको कुखरा वितरण समेत गाउँपालिकाले गरेको छ । जुन गाउँलाई खसी बोका र माछा उत्पादन पकेट क्षेत्र बनाई सिङ्गो सत्यवतीलाई माछा मासुमा आत्मनिर्भर बनाउने गरी गाउँपालिकाले योजना अगाडी सारेको छ ।
त्यस वडाका खडगबिर थापा लगायतका युवाहरुले ठुलो परिमाणमा पोखरीहरु निर्माण गरी माछा उत्पादन गरिरहेका छन् । उनिहहरुले दुग्ध उत्पादनका लागि ठुला ठुला फर्महरु निर्माण गरेका छन् । त्यस फर्ममा भारतबाट उन्नत जातका ३० वटा पाडी ( स्त्रीजन्य भैसी ) मगाईएको छ र ८० प्रतिशत ब्याउन थालेका छन् ।
वडा नम्वर ४ को लिम्घामा ढोरपाटनको स्वादिलो आलु उत्पादन पकेट क्षेत्र बनाईएको छ । जहाँ आलु र टमाटर खेतीलाई पनि ब्यवसायीकरण गरिएको छ । वडा नम्वर ५ हसरामा खाद्यान्न उत्पादन र आपुर्तिको केन्द्र ठानिएको छ । समथल फाँट रहेको तल्लो भाग खैरेनीलाई धान मकै गहुँ खेती र दुग्ध उत्पादनको केन्द्र बनाउने गरी गाउँपालिकाले योजना अगाडी सारेको छ ।
वडा नम्वर ६ जोहाङ्गको तल्लो समथल खेतलाई विउ विजन उत्पादनको केन्द्र र माथील्लो भागलाई ब्यवसायीक अदुवा खेतीको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ । वडा नम्वर ७ जुनियाँको माथील्लो भागमा बाख्रा पालन र तल्लो समथल फाँटहरुमा तरकारी उत्पादनको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ ।
वडा नम्वर ८ भार्सेलाई महङ्गो फल किभि खेती र सुन्तला खेतीको पकेट क्षेत्र बनाईएको छ । त्यहाँका कृषक अगुवा धनबहादुर पुनले किभि खेती लगायतको कृषि उत्पादनलाई गाउँ ब्यापी बनाएका छन् । ७० वटा सम्म भैसी पालन गरेका उनले किभि खेती जंगलभरी नै गरिरहेका छन् ।
एक बर्ष अघि मलेशियाको रोजगारीको अनुभव संगालेर फर्किएका त्यहाँका टिका श्रीसले बाख्रा पालन सुरु गरेका छन् । उनले तरकारी खेतीका लागि टनेल निर्माण गर्दै सुरु गरेको उक्त ब्यवसायबाट आगामी दिनमा सत्यवतीका कुनै पनि युवा विदेश जान नपर्ने गरी रोजगारी दिन सक्ने उद्घोष समेत गरेको गाउँपालिका प्रमुख ढकाल बताउँ छन् ।
यसरी सत्यवतीका आठ वटै वडामा गुरु योजनाका साथ कृषकहरुलाई कृषि र पशुपालनका कार्यक्रमहरु अगाडी सारे पछि युवाहरु विदेशिने क्रम पनि घट्दै जान थालेको ढकालको ठम्याई छ । कृषि क्षेत्रमा यस बर्ष मात्रै झण्डै एक करोड रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीले बताए । त्यस्तै पशुपन्छी पालनका लागि करिब ७० लाख रकम विनियोजन गरिएको भण्डारीले जानकारी दिए ।
उनले भने–‘ यहाँको गाउँपालिका परिषद्ले कृषि उत्पादन र पशुपन्छी पालनलाई मुख्य आधार बनाएको छ, सोही अनुरुप हामी कार्यान्वयन गर्दै छौं । कृषकहरुलाई हामी ५० प्रतिशत अनुदानको ब्यवस्था गरेका छौं । तरकारीका अलवा किभि खेती, कफी खेती तर्फ पनि कृषकलाई प्रोत्साहित गरी रहेका छौं । टनेल निर्माण, साना सिचाई कार्यक्रम र स्थलगत तालिमहरु प्नि धमाधम चलाई रहेका छौं, यसमा कृषकहरु प्रोत्साहित हुनु भएको छ र गाउँपालिका कार्यालय परिवारमा पनि उर्जा मिलेको छ । ’
गाउँपालिका प्रमुख ढकालले कृषि र पर्यटन विकास सत्यवती विकासको मुल आधार बनाएर अगाडी बढेको बताए । ‘साविक लुम्विनी अञ्चलकै सबै भन्दा अग्लो लेक थाप्ले हाम्रै गाउँपालिकामा छ । हिले र ऐतिहासिक दरवारको अवशेष रहेको कोर्चिङ्गकोट लेक, कालिगण्डकीको किनारमा अवस्थित शालिग्रामको भण्डार रुद्रवेणी धाम पनि हामै्रमा छ उनले भने यी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन चाहन्छौं । ’
यसै बर्ष भार्सेको जमादी भन्ने स्थानमा विमानस्थलका लागि सम्भाव्यता अध्ययन गरिदै गरेको बताउँदै उनले थपे–‘ बढिघाट खोलामा ¥याफ्टिङ्ग सञ्चालनका लागि यसै बर्ष देखि काम सुरु गरिदै छ । उता कालिगण्डकीको साँघुरेमा बाँध बाँधेर बिशाल जलासय निर्माण गरी पर्यटकहरु भित्राउने योजना पनि अगाडी सारिएको छ । ’
उनका अनुसार पश्चिम नेपालमै सबै भन्दा बढि बृद्ध बृद्धाहरु रहेको रुद्रवेणी राममन्दिर किनारमा शालिग्रामहरुबाट शिवजीको विशाल मुर्ति निर्माण गरी बिश्वभरका ५०औ लाख हिन्दुधर्मावलम्वीहरु त्यहाँ भित्राउने योजना समेत अगाडी सारिएको छ ।
‘कृषि र पशुपालनबाट सत्यवतीलाई आत्मनिर्भर बनाउँदै कालिगण्डकी कोरिडोर र यता अर्को हाईवे रिडी रुद्रवेणी वामीटक्सार खर्वाङ्ग ढोरपाटन सडकलाई प्रयोग गरी यहाँको उत्पादन निर्यात गराउन सकियो भने यहाँका जनताको मुहार फेरिने हाम्रो निश्कर्ष रहेको छ’– प्रमुख ढकालले भने ।