लैंगिक हिंसा विरुद्ध सचेतना जगाउँदै महिला जागरण

पाल्पा÷महिला तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको महिला जागरण तथा कल्याण केन्द्र पाल्पाले लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रमहरु संचालन गर्दै आएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत जिल्लाका विभिन्न ठाउँहरुमा सचेतना कार्यक्रम गर्दै आएको केन्द्रले शुक्रबार तानसेनको मोहन कन्या माविका विद्यार्थीहरुलाई लैङ्गिक हिंसा र दुव्र्यवहारका विषयमा एक दिने प्रशिक्षण दिएको हो । नेपालमा महिला हिंसाको अवस्था बढ्दै गएकाले त्यसलाई रोक्नका लागि विद्यालय स्तरमा विद्यार्थीलाई प्रशिक्षण दिइएको केन्द्रकी अध्यक्ष मन गहिरेले जानकारी दिईन् । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि मोहनकन्या माविका प्रअ दिपक ज्ञवालीले विद्यार्थीहरु भविष्यका कर्णधार भएकाले हिंसा न्युनीकरणमा उनीहरुको महत्वपूर्ण भूमिका रहेको बताए । नेपालमा हिंसाको अवस्था चुनौतीको रुपमा देखिएकाले विद्यालयस्तरबाटै यस्ता सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेमा प्रअ ज्ञवालीले जोड दिए ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पाका प्रमुख शोभाकान्त न्यौपानेले महिला हिंसा, लैङ्गिक हिंसा, दुव्र्यवहार, नेपालमा महिला हिंसाको अवस्था, महिला जनसहभागिता लगायतका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रमुख प्रशिक्षक न्यौपानेले क्षमताका आधारमा महिला पुरुष बराबर भएकाले उनीहरुलाई समान दृष्टिले हेर्नुपर्ने बताए । अवसर पाए महिलाले पनि सफल नेतृत्व लिन सक्ने भन्दै प्रशिक्षक न्यौपानेले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए । उनले कार्यक्रममा सिकेका कुराहरुलाई परिवार र समाजमा गएर सिकाउन विद्यार्थीहरुलाई आग्रह गरे ।
कार्यक्रममा सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष मन गहिरेको अध्यक्षता र सञ्चालन संस्थाकी सचिव रिना श्रेष्ठले गरेकी थिइन् । महिला जागरण तथा कल्याण केन्द्रले ‘लैङ्गिक हिंसा र दव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ मंसिर ९ गते देखि नै जिल्लामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।