विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
पाल्पा÷ जाडो बढेसँगै जिल्लाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बगनासकाली गाउँपालिका २ पोखराथोक स्थित जनता प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल र स्वर्गिय कमलकृष्ण कार्कीको परिवारको सहयोगमा विद्यार्थीहरुलाई स्वीटर, टोपी र फलफूल वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष बस्याल र स्वर्गिय कार्कीकी श्रीमती ज्ञानु कार्की, उनका बुवा हरीकृष्ण कार्की र भाउजु प्रमीला कार्कीले संयुक्त रुपमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । उनिहरुले विपन्न परिवारका बालबालिकाहरु चिसोका कारण विद्यालयमा अनुपस्थित हुने भएकाले उनीहरुलाई विद्यालय शिक्षामा नियमित गराउन व्यक्तिगत रुपमा सहयोग गरेको बताएका छन् । उनीहरुले कुमाल र मगर समुदायका ४८ विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेका हुन् ।
कपडा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष बस्यालले गाउँपालिकाको विकास र विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय शिक्षामा समाहित गराउन आफुले व्यक्तिगत र गाउँपालिकाबाटै सहयोग गर्दै आएको बताए । यस्तै उनीहरुले नारायणी प्रावि, वगनाशकाली गाउँपालिका–३, का ३१ जना दलित विद्यार्थीलाई पनि टोपीसँगै स्वीटर वितरण गरेका छन् ।