कपडा व्यवसायीमाथि खुकुरी प्रहार
काठमाडौं-तिलगंगामा कपडा व्यवसायी सर्लाहीको हरिवन घर भइ गौशाला बस्दै आएकी ३० वर्षीया कपडा व्यवसायी प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको हो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले भारतको बिहार घर भइ हाल तिलगंगा बस्दै आएका १८ वर्षीय आनन्द कुमारलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले उनलाई पक्राउ गरिएको पुष्टि गरे ।
सोमबार दिउँसो वाग्लेमाथि खुकुरी प्रहार भए लगत्तै उनलाई ओम अस्पताल लगिएको र उनको उपचार जारी छ । अहिले उनि खतरामुक्त छिन,थप अनुसन्धान गरिरहेका छौं,डीएसपी मल्लले जानकारी गराए।
प्रहरीले अहिलेसम्म वाग्लेमाथि किन खुकुरी प्रहार भयो भन्ने पत्ता लगाउन सकेको छैन । पक्राउ परेका भारतीय नागरिकले पनि पटकपटक बयान फेरिरहेका छन् ।
वृत्तका एक अधिकारीले भने, उसले कहिले कसैले खुकुरी हान पैसा दिन्छु भनेको बताउँछ भने कहिले आफैं ठोक्किएको भन्छ । विस्तृत बुझ्ने काम भइरहेको छ ।
अहिले वृत्तमा पीडित र पीडक पक्षबीच छलफल समेत भइरहेको स्रोतले बतायो ।