महानगरका विद्यालयको एकै प्रकारको पोशाक

काठमाडौँ -महानगरको शिक्षा विभागले महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच  कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकरुपता ल्याउनका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ ।विदेशका महानगरमा रहेका विद्यालयको पोशाक एउटै हुन्छ’, उनले भने, हामीले पनि एउटै प्रकारको पोशाक लगाएर महानगरका विद्यालयमा एकरुपता ल्याउन थालेका हौँ ।

एकै पटक विद्यार्थीको पोशाक एउटै बनाउन समस्या हुन्छ, उनले भने, विस्तारै महानगरभित्रका सबै विद्यालयमा तीन/चार वर्षभित्रमा एउटै पोशाक बनाउने लक्ष्य रहेको छ । विभागले यसका लागि शिक्षक, संस्थागत विद्यालय सञ्चालक र विद्यार्थीका सङ्घ सङ्गठन र अभिभावकसँग छलफल, अन्तर्क्रिया गरी पोशाक कस्तो बनाउने भन्ने निर्णय गर्ने छ ।

यसैगरी महानगरले विद्यालयको बिदामा समेत एकरुपता ल्याउनका लागि शैक्षिक क्यालेण्डर लागू गर्ने भएको छ । आगामी शैक्षिक सत्रदेखि विदेशी कूटनीतिक नियोगबाट सञ्चालन भएका विद्यालयबाहेकका सबै प्रकारका विद्यालयमा एकै दिन विद्यालय खुल्ने र एकै दिन बिदा हुने गरी क्यालेण्डर ल्याउन थालिएको शिक्षा अधिकारी कोइरालाले बताए ।

महानगरको शिक्षा विभागले त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको तयारीको बहानामा अनावश्यक बिदाको समेत कटौती गर्दै स्थानीय बिदाका लागि व्यवस्था भएको पाँच दिनको प्रयोग गर्दा शिक्षा विभागको पूर्व स्वीकृति अनिवार्यरुपमा लिनुपर्ने व्यवस्था गरेको छ । काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४० संस्थागत विद्यालय रहेका छन् ।