एकनाथ ढकाललाई सरकारले विशेष सुरक्षा दिने
काठमाडौ- युनिभर्सल पिस फेडरेसन (युपीएफ) का नेपाल प्रमुख एकनाथ ढकाललाई सरकारले विशेष सुरक्षा दिने भएको छ ।
सुरक्षा थ्रेट भएको ढकालले निवेदन दिएपछि सुरक्षा दिने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ ।
विवादित एसिया प्यासिफिक समिट सकिएको केही दिनपछि ढकालले ‘असुरक्षित महसुस गरेको’ भन्दै सरकारसँग सुरक्षा माग गरेका थिए । तर कस्ले थ्रेट रहेको हो भन्नेबारे भने खुलेको छैन ।
गृह मन्त्रालयमा यसअघि नै सुरक्षा माग गरेर निवेदन दिएका पूर्व मन्त्रीहरू र बहालवाला सांसदहरूका लागि भने सरकारले यस्तो प्रबन्ध गरेको छैन ।
ढकाललाई भने सरकारले उच्च प्राथमिकतामा राखेर सुरक्षा दिन लागेको हो । ढकालले क्रिश्चियन धर्म फैलाउन अनेक शैली अपनाउने गरेको आरोप लाग्दै आएको छ । उनलाई राजनीतिक दलका नेताहरूले नै सहयोग र साथ दिँदै आएका छन् ।
केही दिनअघि काठमाडौंमा आयोजना गरिएको यूपीएफको कार्यक्रममा प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री माधव नेपाललगायतका नेताहरूको सहभागिता थियो ।