सरकारका क्रियाकलापविरुद्ध आवाज बुलन्द पार्नुपर्ने: सभापति देउवा

काठमाडौ-  शनिबारदेखि काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षीको रुपमा देशभर सरकारका क्रियाकलापविरुद्ध आवाज बुलन्द पार्नुपर्नेमा जोड दिनुभयो ।

देशका ठूला राजनीतिक परिर्वतनमा नेपाली कांग्रेसको ठूलो योगदान रहेको चर्चा गर्दै उहाँले आन्तरिक द्धन्द्धका कारण कतिपय अवस्थामा उम्मेदवारहरु पराजित हुनुपरेको यथार्थ भने स्वीकार गर्नुभयो ।

पार्टीभित्र विधि र पद्धतिलाई बलियो बनाउन नसक्दा पार्टीकै आन्तरिक कारण र आन्तरिक द्धन्द्धले उम्मेदवारहरु पराजित हुनुपरेको र एक पटक जित्ने र अर्को पटक हार्ने काम हुँदै आएको पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले पार्टीभित्र अनुशासन कायम गर्दै विश्वास र एकताका साथ पुनः एक नम्बरको पार्टीमा स्थापित गराउने विश्वास व्यक्त गर्नुभयो । पार्टीलाई मिलाएर लैजानुपर्छ र कसैले पनि पार्टी छोड्ने अवस्था नआओस् भन्नेमा नेतृत्व सचेत रहेको भन्दै उहाँले महासमिति बैठकले पार्टीलाई नयाँ उत्साह र उर्जा भर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले कञ्चनकपुरकी निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाउनुभएको छ ।

उहाँले शान्ति सुरक्षा कायम गराउन नसकेको सरकार स्वयंम निर्मला पन्तको हत्यारा बचाउन लागि परेको दाबी गर्नुभएको हो ।

देशभर हत्या हिंसाका घटना बढ्दै गएको तथा निर्मला पन्तको तस्बिर टाँस्नेलाई समेत नियन्त्रणमा लिने सरकारका क्रियाकलाप सर्वत्र आलोचित भएको उहाँले उल्लेख गर्नुभयो । संघियता नै असफल बनाउने षड्यन्त्रमा सरकार लागेको उहाँले दाबी गर्नुभयो ।

वर्तमान सरकारले नागरिकलाई लोकतन्त्रको उपहारको रुपमा मंहगी दिएको, बुढी गण्डकी आयोजना निर्माणको जिम्मा बिना प्रतिष्पर्धा सुम्पिएको, मिडियामा हस्तक्षेप बढेको भन्दै उहाँले त्यसविरुद्ध सशक्त प्रतिकार गर्नुपर्ने बताउनुभयो ।