तारेभिरमा ऐतिहासिक मह शिकार सुरु
गाउँपालिकाको बैठक नै भिरमौरी स्थानमा
बुटवल । बाग्लुङ्गको बडिगाड गाउँपालिका क्षेत्रमा मानव सभ्यताको विकास संगै सुरु भएको भिर मौरी काढ्ने परम्परालाई निरन्तरता दिदै हरेक बर्षको मंसिर, पुस, बैसाख र जेठमा मह निकाल्ने चलन रहँदै आएको छ । जसलाई महशिकार भनिन्छ र पर्वका रुपमा मह काढिन्छ । यस बर्षको महशिकार पनि मंसिर अन्तिम साता आएर शुक्रबार देखि सुरु गरिएको छ ।
उक्त गाउँपालिकाको वडा नम्वर ३ सिसाखानी टुनिखोलाको तारेभिरमा भिर मौरी महशिकार गर्न सुरु गरिएको हो । त्यसो त केहि दिन अघि सम्पन्न प्रथम बडिगाड महोत्सवमा पनि रणसिंहे भिरबाट भिर मौरीको महशिकार गरि प्रदर्शन गरिएको थियो । तारेभिर हुँदै गाउँपालिकाको शिसाखानी, जलजलाका भिरहरुमा पनि महशिकार गरिने भएको छ ।
समुन्द्री सतह देखि २२ सय मिटर उचाईमा रहेको अनकन्टार र हेर्दै कहालिलाग्दो उक्त तारे भिरमा चढेर त्यहाँको भिर मौरी काढ्ने शाहस अहिलेको पिढिमा अरु कसैले गर्न सकेको छैनन । सकेको छ भने उनै एक शाहसी ब्यक्ति हुन मेयरसिंह पाईजा ।
त्यस गाउँपालिका प्रमुख समेत रहेका पाईजाले चिनमा पुगेर भिर मौरी काढ्ने तालिम लिई सके पछि २०५९ साल देखि बर्षेनी भिर मौरी काढ्दै आएका हुन । ‘हाम्रा पिता पुर्खाहरुले नाम्लो कम्मरमा बाँधेर जोखिम युक्त ढंगले भिर मौरी काढ्दै आएका थिए , मैले नयाँ प्रविधीबाट चिनमा भिर मौरी काढिन्छ भन्ने ताह पाएँ र त्यहाँ पुगेर तालिम लिएर आए पछि २०५९ साल देखि भिर मौरी काढ्दै आएको छु, पाईजाले भने अहिलेको युवा पिढिले यस भिरम चढेर भिर मौरी काढ्ने शाहस देखाउन सकेका छैनन । ’
शुक्रवार माथी भिरको टापुबाट तल झर्ने भ¥याङ्ग जसलाई स्थानियवासीले प¥याङ्ग भन्छन त्यसबाट सिउरिदै पाईजा ७५ मिटर तल भिरको बिचमा रहेको ४० घार भिर मौरी काढेर ५० किलो मह शिकार गरेका छन । जसलाई १६ घरले बाँढेका छन । निकै दुर्लभ मानिने भिर मौरीको मह घर मौरीको भन्दा शक्तिवद्र्धक र औषधी जन्य भएको गाउँपालिका प्रमुख पाईजाले बताए ।
मानव उत्पत्ती संगै फिरन्तेहरुले आफुलाई रुखको बोक्रा, गिठा लगायतका खाने कुरा भिर जंगलमा खोज्दै जाँदा भिर मौरी पनि खाने कुरा र औषधी मुलोका रुपमा चिनेर भिर मौरी काढ्ने प्रचलन सुरु भएको पाईजाको भनाई छ । धार्मिक रुपले पनि यो असली सुन जस्तै शुद्ध मानिदै आएको उनले बताए ।
त्यस तारेभिर माथीको सुन्दर टापु जहाँबाट चारैतिरको दृश्यावोलकन गर्न सकिन्छ त्यहाँ पानीको ब्यवस्थ गर्न सके पर्यटकहरु ऋाकर्षित गर्न सकिने पाईजाको ठम्याँई छ । चिसो मौसम नभिनी शनिवार विहानै पाईजा मह शिकार गर्ने साधन बोकेर त्यसै सिरेठो लाग्ने तारेभिरमा गाउँवासीहरु लिएर हिडेका छन ।
के हो त महशिकार (हनि हन्टिङ)?
कहालिलाग्दो भिर पहराहरुमा हुने भिर मौरीको मह सिकार अर्थात मह काढ्ने काम नै मह सिकार हो । जुन विश्वमै विरलै हुने गर्दछ । अत्यन्त सुरा मह शिकारीहरुको साहासिक काम पर्यटकका लागि नौलो र आकर्षणको विषय भएका कारण पनि यो निकै महत्वपूर्ण सिकार हो । अर्को तर्फ भिर मौरीको मह समय मिलाएर काढ्न सक्ने हो भने राम्रो आम्दानीको श्रोत पनि हो ।
शरिर नै सिरिङ हुने अग्ला भिर पहरामा निडरभई मह सिकारीहरुले मह काढ्ने काम नै मह सिकार (हनि हन्टिङ) हो। जुन जोखिमपूर्ण दृश्य स्वदेशि तथा विदेशी सबैका लागि साँच्ची कै अविस्मरणीय र रोचकको विषय हुने गर्दछ । तर बाग्लुङ्गेहरुका लागि परम्परा देखि सामन्य बिषय बन्दै आएको छ ।
त्यसमा पनि बडिगाड गाउँपालिकाको शिसाखानी, जलजला, रणसिंह किटेनीका विभिन्न भिरहरुमा प्रशस्त भिर मौरी पाइने गर्दछ र प्रशस्त मह सिकारको संभावना रहेको छ । मह सिकार गर्ने प्रचलन धेरै पुरानो रहेपनि नयाँ पुस्तामा भने यसको खासै विकास हुन नसकेको गाउँपालिका प्रमुख पाईजाले गुनासो दोहराउँ छन ।
भिर पहरामा पाइने मौरीको संरक्षणका साथै उचित तरिकाबाट मह सिकार गर्न सक्ने हो भने स्थायिवासीको आम्दानीका साथै मह सिकारले स्वदेशी तथा विदेशी पर्यटकको मन पनि लोभ्याउने पक्का छ ।
यार्सागुम्वा जति कै यौनवद्र्धक
अन्य मौरीको महभन्दा भिरमौरीको मह स्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण मानिन्छ भिरमौरीको महलाई शक्तिवद्र्धक तथा यार्शुगुम्वा जति कै यौनवद्र्धक अचुक औषधिको रुपमा पनि चिनिन्छ। तर यसको सेवनमा भने ध्यान दिनु जरुरी हुन्छ । वनपाखामा विभिन्न फूलको रस समायोजना हुने भएकाले एकै पटकमा धेरै खाँदा पखाला लाग्ने टाउको दुख्ने जस्ता समस्या आउन सक्छ ।
प्रतिलिटर १२ सय रुपैयाँ भन्दा महंगो हुने यो भिर मौरिको मह दम, नशा, ढाडसम्बन्धि रोगको औषधिका रुपमा पनि परम्परा देखि सेवन गरिदै आईएको छ । त्यस्तै पाठेघर समस्या, निमोनिया, पिनास, विष नाशक, पेट रोग, हड्डीसम्बन्धि समस्याको निदानमा पनि मह सेवन उत्तम मानिन्छ ।
भिर मौरीले विभिन्न जडीबुटिवाट मह बनाउने भएकोले महलाई औषधिका रुपमा सेवन गरिएको हो। भिर मैरीले पाखानवेद, पदमचाल, ठूलो ओखती, वृषजरा, सुगन्धवाल, चुथ्रो, कटुस, चिराइतो, मान्द्रे, बलु, हतिचुड, विभिन्न सुनाखरी प्रजातिका वनस्पति लगाएत विभिन्न जडीबुटीको फूलको रसबाट मह बनाउने मान्यता रहेको छ ।
धेरै स्थानमा भिर मौरी छ तर नष्ट गरिन्छ
पाईजा भन्छन बाग्लुङ्गका धेरै भिरहरुमा भिर मौरी प्रशस्त रहेका छन । तर धेरै स्थानमा आगो लगाएर भिर मौरी काढ्ने हुँदा मौरीका नयाँ वच्चाहरु जन्मिन नसेका हुन ।
हामीले जस्तो डोरिको पराङ मार्फत भिरमा पसेर ज्युँदै मौरीको चाका निकाल्न सके भिर मौरीको थप विकास हुन्छ । उनका अनुसार मह काढ्ने मुख्य ब्क्ति उनि सहित १० देखि १५ जना सहयोगी चाहिन्छन ।
ती सहयोगीले डोरीकै साहारामा बाँसको थूम्से, थाली वा डालीमा मह थाप्ने गर्दछन । मह भरिएपछि डोरीकै सहायतामा भिर भन्दा माथि वा तल ठाउँअनुसार भुईमा झारिन्छ ।
अग्लो भिरको माथि पट्टी पराङलाई अड्याएर तल भिरमा झरिन्छ र मौरीको चाकाबाट मह निकालेर गाउँवासीलाई बरावर गरेर बाढिन्छ , रमाउँदै थोरथोरै त्यही खाईन्छ र धेरै घर लगेर औषधीका रुपमा संग्रह गरिन्छ ।
गाउ“पालिकाको बैठक नै भिरमौरी स्थानमा
पर्यटकीय क्षेत्रको विकासको लागी प्रचार गर्ने उद्धेश्यले त्यस गाउँ कार्यपालिकाको वैठक समेत भिर मौरी पाईने अर्को स्थान गराङचौर मै राखेको थियो । वैठक संगै स्थानिय सरोकारवाला संस्था तथा बडिगाड गाउँकार्यपालिका सदस्य सहित कार्यपालिका कार्यालयमा कार्यरत सवै कर्मचारीहरुको सहभागितामा वनभोज कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
प्रथम बडिगाड महोत्सव पछि सो गाउँपालिकाले, त्यहाँको सबै भन्दा विकट मानिने र भिरमौरी पाईने स्थान शिसाखानीमा समेत कार्यपालीकाको वैठक तथा मह सिकारको कार्यक्रम राखेर प्रचार प्रसार गरेको थियो । उक्त बैठक र प्रचार प्रसारले शिसाखानीको विकासमा महत्वपूर्ण सहयोग पुग्ने वडा नं. ३ का अध्यक्ष खड्क पुनले विश्वास व्यक्त गरे ।