साँघुरा सडक र चालकको लापरवाही यात्रुको काल

पाल्पा / पछिल्लो समय जिल्लामा सडक दुर्घटनाका घटनाहरु बढ्दै गएका छन् । अधिकांस सडकहरु साघुरा र चालकको लापरवाहीका कारण जिल्लामा सडक दुर्घटनाका घटनाहरु दिनप्रतिदिन बढ्दै गएका हुन् । जिल्लामा पाँच महिनाको अवधिमा सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
२०७५ श्रावण देखि मंसिर महिना सम्म पाल्पामा सडक दुर्घटनामा परी २३ जनाले अकालमा ज्यान गुमाए भने ८३ जना घाईते भएका छन् । २०७४ श्रावणदेखि २०७५ असारसम्म ४५ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाए भने १ सय ४२ जना घाईते भएका थिए । प्रत्येक वर्ष दुर्घटनामा मृत्यु हुनेको संख्या र घाईतेहरुको संख्या बढ्दै गएको छ । चालु मंसिर महिनामा जिल्लामा १० जनाको दुर्घटनामा मृत्यु भईसकेको छ भने १३ जना घाईते भएका छन् । पहाडी क्षेत्रमा साघुरो बाटो, सवारी साधन दिनहँु बढ्दै जानु, चालकहरुले पूर्ण रुपमा ट्राफिक नियमको पालना नगर्नु, सडक गुणस्तरीय नहुनु, सवारी धनीले नियमित सवारी साधनको चेकजाँच नगर्दा दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बरबहादुर गिरीले जानकारी दिए । केही दिन अघि सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडक खण्डमा स्कुटी दुर्घटना परी २३ वर्षीय विपना श्रेष्ठको मृत्यु भएको थियो ।
त्यस्तै केही हप्ता अघि तानसेन नगरपालिका ९ दमकडाको भित्री सडक खण्डमा मोटसाईकलको ठक्करबाट पैदल यात्री ४७ वर्षीय टेकबहादुर खाम्चाले ज्यान गुमाउनु परेको थियो । त्यस्तै मंसिर महिनामै बुटवल सडक खण्ड अन्र्तगत पर्ने सिद्धबाबा हेडबक्स नजिकै मोटसाईकल दुर्घटनामा परी तानसेनका ३७ वर्षीया गणेश रेग्मीको र रिब्दिकोट गाउँपालिका–३ सिरूखर्कमा जीप दुर्घटना हुँदा बागलुङ्गका एक वर्षीय अङ्कित दर्जीको मृत्यु भएको थियो । यी घटनाहरु सेलाउन नपाउदै विहिबार राती फेरी कहाली लाग्दा घटना घटेको छ । पूर्वखोला गाउँपालिका–२, जल्पाको रमितापुरमा जीप दुर्घटना भएको हो । जल्पाबाट माथागढी गाउँपालिका–८, बहादुरपुर तर्फ आउँदै गरेको लु १ ज २६५३ नम्बरको जीप बिहीवार राती दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको र तीन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृत्यु हुनेमा माथागढी गाउँपालिका ८ बहादुरपुरका २० वर्षका चालक विरेन्द्र राना, ३३ वर्षकी यानीसरा गाहा, २४ वर्षकी कुनीसरा रुचाल, ७१ वर्षका रेवतबहादुर जिसी र ४१ वर्षकी बुमाकुमारी दर्मामी रहेका छन् । चार जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा बहादुरपुरकै सुरेन्द्र मश्राङ्गी, देवसिंह राना र सान्ता रुचाल रहेका छन् । घाइते सान्त रुचालको तीन दिनकी छोरी भने सकुसल रहेकी छन् । घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जीप सडकबाट ९ सय मिटर तल खसेको हो । गाडी अनियन्त्री भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए । आर्थिक वर्ष २०७४÷०७५ मा ट्रक १२ वटा, बस १३ वटा, कार भ्यान जीप १९ वटा ट्याक्टर ६ वटा र मोटरसाईकल २५ गरी ७५ वटा सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ ।