देउसी भैलोको रकम डस्टविनमा

पाल्पा । फ्रेण्डसिप युवा क्लव रामपुर पाल्पाले देउसी भैलोबाट संकलन गरेको रकम डस्टविनमा प्रयोग गरेको छ । सामाजिक कार्यमा सक्रिय बन्दै आएको क्लवले रामपुर नगरपालिका भित्रका बजार क्षेत्रको सडकमा डस्टविन राखेको हो । क्लवले गत तिहारमा देउसी भैलोबाट जम्मा गरेको रकमले वडा ५ को बेझाँड बजार, वडा ७ को किसानबारी, वडा ६ को विजयपुर तथा वडा ४ का टोल तथा बजारका २० स्थानमा डस्टविन खरिद गरी राखेको छ ।
बजार क्षेत्रबाट निस्कने फोहोरलाई व्यवस्थित गरी सफा र स्वच्छ नगर बनाउन ठाउँ–ठाउँमा डस्टविन राखिएको क्लवले जनाएको छ । बजार क्षेत्रमा जथाभावी फोहोर फाल्नाले बजार नै दुर्गन्धीत भएका बेला क्लवले प्रशंसनीय कामको थालनी गरेको हो । पछिल्लो पुस्ता मनोरञ्जन र विलासीताका कार्यमा समय बेत्तित गरिरहेका बेला रामपुरका युवाहरुले भने क्लव नै सञ्चालन गरी सामाजिक काममा आफुहरुलाई अग्रसर बनाएका छन् । नेपाली समाजमा संस्कृति बचाउँने नाममा देउसी भैलो खेली संस्कृतिलाई धरापमा पार्ने काम भइरहेको बेला युवाहरुले संस्कृतिको संरक्षण सँगै सामाजिक कामलाई अगाडि बढाएको पाइन्छ । उनीहरुले देउसी भैलोबाट संकलन भएको रकमलाई मनोरञ्जनको क्षेत्रमा मात्रा खर्च नगरी सामाजिक क्षेत्रमा लगाएका हुन् । क्लवले एक कार्यक्रमका बीच मंगलबार बजार क्षेत्रमा डस्टविन राखेको हो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले उक्त कार्यको शुभारम्भ गरेका हुन् । कार्यक्रममा नगर प्रमुख थापाले बजार सफा र सुन्दर बनाउने लक्ष्यका साथ क्लवले गरेको कार्यको प्रशंसा गर्दै थप चेतना जगाउने कार्य गरेको बताए । उनले नगर सरसफाई अभियानमा सहयोग गर्न नगरबासीलाई आग्रह समेत गरे । कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख मधुसुदन भट्टराईले समाज निर्माणको जिम्मा युवाहरुको काँधमा रहेको बताउँदै युवाहरुलाई रचनात्मक कार्यमा लाग्न अनुरोध गरे ।
त्यस्तै कार्यक्रममा रामपुर नगरपालिका वडा ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले यस्ता कार्यको अन्य संस्थाहरुले पनि अनुकरण गर्नु आवश्यक रहेको बताए । क्लवका अध्यक्ष विमल रानाले क्लवले देउसी भैलोबाट संकलित गरेको रकमले पहिलो पटक यस्तो कार्यक्रम गरेको बताए । क्लवका अध्यक्ष विमल रानाको अध्यक्षतामा चलेको कार्यक्रम सदस्य सुमन सुवेदीको स्वागत र प्रेमबहादुर सारुको सञ्चालनमा भएको थियो ।