क्षयरोग सम्बन्धी अभिमूखिकरण
पाल्पा । नेपाल क्षयरोग निवारण संस्था पाल्पाले जिल्लाका राजनीतिककर्मी र सामाजिक कार्याकर्ताहरुलाई एक दिने क्षयरोग सम्बन्धी अभिमूखिकरण कार्यक्रम सञ्चालन गरेको छ । नाटामा संलग्न विद्यालयका विद्यार्थीहरु र प्रअहरुलाई क्षरोग सम्बन्धी प्रशिक्षण दिइसकेको संस्थाले राजनीतिक दल र सामाजिक कार्याकर्ताहरुका प्रतिनिधिहरुलाई प्रशिक्षण दिएको हो ।
नेपालमा क्षयरोगको अवस्था चुनौतीपूर्ण रहेकाले समाजमा रहेका राजनीतिक दल, सामाजिक व्यक्ति, विद्यार्थी, शिक्षकहरुलाई क्षयरोगका विषयमा जानकारी दिने उद्देश्यले अभिमूखिकरण कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । अभिमूखिकरण कार्यक्रमको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले रोग लाग्नुभन्दा पनि रोग लाग्नै नदिन विशेष सर्तकता अपनाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य सुनिता अधिकारीले गाउँघरमा अझै पनि क्षयरोग लागेमा लुकाएर राख्ने भएकाले स्थानीय तहमै पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । राप्रपा (प्रजातान्त्रिक)का जिल्ला अध्यक्ष रेवन्तबहादुर विष्टले विज्ञान र प्रविधिको विकाससँगै मानव जीवनमा विभिन्न रोगहरुको विकास भएको बताए । उद्घाटन कार्यक्रम संस्थाकी सदस्य सुलोचना शाहको स्वागत, संस्थाकी अध्यक्ष शोभा शाक्यको अध्यक्षता र कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव झपेन्द्र गहिरेले गरेका थिए ।
अभिमूखिकरण कार्यक्रममा युनाईटेड मिसन अस्पतालका डा.उदिप महर्जनले क्षयरोगको परिचय, क्षयरोग पत्ता लगाउने तरिका, त्यसका लक्षण, सर्ने तरिका, प्रकार, बच्ने उपाय, नेपालमा क्षयरोगको अवस्था र चुनौतीका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका हुन् । प्रशिक्षक महर्जनले क्षयरोग माईक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग भएको र श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने, क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मृगौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो लाग्ने बताए ।