नायक केसीसँग डेट जाने प्रियंकाको इच्छा
काठमाडौं । चलचित्र ‘क्याप्टेन’मा समावेश ‘रहर छ सँगै’ बोलको गीत काठमाण्डौमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । सो चलचित्रको सार्वजनिक गरिएको पहिलो गीतमा अर्जुन पोखरेलको संगीत, दिग्गज धौरालीको शब्द, सुगम पोखरेल र अन्जु पन्तको आवाज रहेको छ ।
यो गीतको भिडियोमा चलचित्रका मुख्य नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीलाई फिचरिङ गरिएको छ । फागुन १७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यो चलचित्र भूवन केसीको निर्माण गरेका हुन् भने दिवाकर भट्टराईको निर्देशन रहेको छ । यो गीतको कोरियोग्राफी कविराज गहतराजले गरेको बताइएको छ ।
यो गीतको छायांकन, कोरियोग्राफी र लोकेशन पनि उत्कृष्ट रहेको प्रतिक्रिया समीक्षकहरुले दिएका छन् । चलचित्र क्याप्टेनमा अनमोल र उपासनाका साथै प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य अभिनय रहेको बताइएको छ । फुटवलको कथामा आधारित यो चलचित्रको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् भने दीर्घराज खड्काको सम्पादन रहेको छ ।
चलचित्रको गीत सार्वजनिक कार्यक्रममा उपस्थित रहेका नायक केसीले सुटिङमा दिनभर दौडदा थकानले धेरै पटक बेहोस हुन्छु जस्तो लागेको बताए । यो चलचित्रमा काम गर्दा निकै दुख पाएपनि फरक कथामा काम गर्दा निकै खुशी लागेको नायक केसीले बताए ।
सो चलचित्रकी नव–नायिका प्रियंका एमभीले नायक केसीको लुक्स हेर्दा आफू फिदा भएको आशयको प्रतिक्रिया दिएकी थिइन् । नायक केसी टम क्रुज जस्तो लाग्ने बताउँदै उनले केसीसँग डेट जाने मन भएपनि समय नमिलेको बताइन् ।
नायिका उपासना सिंह ठकुरीले नायक केसी र यो चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताइन् ।
नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काले चलचित्रका लागि नायक अनमोल केसीलाई फुटवलको तामिल दिएका थिए । केसीप्रति काममा निकै लगाव रहेकाले उनलाई फुटबलको बिषयमा सिकाउन आफूलाई निकै सजिलो भएको खड्काले बताए ।
निर्माता भूवन केसीले नेपाली चलचित्रमा खेलकुदको कथामा पनि चलचित्र निर्माण हुनुपर्छ भन्ने सोच आफूमा पहिलेदेखि नै रहेको बताउँदै निर्देशक दिवाकर भट्टराई र सिंगो टिमका कारण आफ्नो सोच सार्थक भएको बताए ।