नेपाली काङ्ग्रेसभित्र हिन्दु राष्ट्रको पक्षमा जनमत वढ्दाे: मंगलबार सम्म ८०० बढी हस्ताक्षर
काठमाडौं- कांग्रेसको महासमिति बैठक चलिरहेको बैठक परिसरमा हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन गरिएको छ।
कांग्रेसको विधान र संविधानमै सनातन हिन्दु राष्ट्र लेख्न दबाब दिन भन्दै हस्ताक्षर संकलन गरिएको हो।
महासमिति बैठक स्थलबाहिर हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै हस्ताक्षर संकलन गरिएको छ ।
हस्ताक्षर संकलनको नेतृत्व काठमाडौं महानगरमा मेयर उम्मेदवार बनेका नेता राजुराज जोशी ,दामोदर गौतम , स्याङ्जाका शंकर पाण्डे,चिरञ्जीवी वाग्ले, पुष्पा भुसाल, अजय चौरसिया, तारानाथ रानाभाट, इन्द्र बानियाँ, केन्द्रिय सदस्य शंकर भण्डारी, नेपाली कांग्रेस गुल्मीका पूर्वसभापति चन्द्र बहादुर केसी लगायत रहेका छन ।
सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका सभापति कर्णबहादुर मल्लले पनि हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेका प्रशान्तमान सिंह नेतृत्वको एक समूहले संकलन गरेको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरेका छन्।
‘जनतालाई सदैव सार्वभौम मान्ने हामी लोकतन्त्रवादीले धर्मका विषयमा बहुसंख्यक जनताको मागलाई सम्बोधन गर्न सकेनौं भने हामी लोकतान्त्रिक पार्टी कसरी हुन सक्छौं?,’ हस्ताक्षर संकलन गर्ने ठाउँमा राखिएको प्रचार सामग्रीमा लेखिएको छ, ‘नेपाललाई सनातन हिन्दु राष्ट्रका रूपमा अंगिकार गर्ने गरी पार्टीको विधान र संविधान संशोधन हुनुपर्छ। यसका लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्दै महासमिति सदस्यको हस्ताक्षर गरेका छौं।’
मंगलबार साझ सम्म नौ सय बढी महासमिति सदस्यले उक्त अभियानमा हस्ताक्षर गरिसकेका छन् । महासमिति बैठकमा एजेन्डा उठान गर्न २५ प्रतिशत अर्थात् चार सय जनाको हस्ताक्षर चाहिने हुँदा यो संख्या उल्लेख्य हुन्छ ।