नेकपाको राजनीतिक प्रतिवेदनमाथि बोल्ने क्रम आज पनि जारी

काठमाडौँ-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको तेस्रो बैठकमा बिहीबार पनि जारी छ । बैठकमा केही दिनदेखि राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

राजनीतिक प्रतिवेदनमाथि नेताहरुले बोल्ने क्रम बाँकी रहेकाले बैठक सकिन अझै केही दिन लाग्ने भएको छ ।

बुधबारको बैठकमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेका थिए ।

बिहीबार बाँकी सदस्यहरुले बोल्ने क्रम चल्नेछ । गएको शनिबारदेखि जारी ४५ सदस्यीय स्थायी कमिटी बैठकमा अहिलेसम्म २८ जनाले आफ्नो विचार प्रस्तुत गरेका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल भइरहेको छ भने सरकार तथा पार्टी सञ्चालनका अरु विषयमा पनि नेताहरुले बोलिरहेका छन् ।

प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् । बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पुरक प्रतिवेदन पेश गरेका छन् ।