कामपा स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारीमा
काठमाडौँ-मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ ।
अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन् ।
यसअघि जे जस्तो निर्माण भएको भए पनि अब निर्माण गर्ने सबै जेब्रा क्रसिङ स्मार्ट नै हुन्छन् । सडक विभागसँग सहकार्य गरी मासिनको आवागमन बढी हुने स्थानमा काम अघि बढाइने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।
उनका अनुसार नयाँ निर्माण गरिने जेब्रा क्रसिङ आधुनिक किसिमको हुनेछ र दुवैतर्फबाट आउने गाडी दश मिटर अघिनै आफैँ रोकिने प्रविधि सहितको हुनेछ । मानिस आएपछि ट्राफिक प्रहरीले हात हल्लाएर, सिट्ठी बजाएर रोकिराख्नु पर्दैन, प्रविधिले नै रोक्छ ।
नयाँ निर्माणको कामसँगै यसअघि निर्माण भएका जेब्रा क्रसिङलाई रातको समयमा पनि स्पष्ट रुपमा देखिने गरी मर्मत गरिने कामपाले जनाएको छ । कामपाले चालू आव २०७५-७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ ।
कामपाभित्र करीब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपालाई आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्ने अधिकार छ । त्यसभन्दा माथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरेर काम गर्नुपर्दछ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।