पूर्वगभर्नर तिलक रावल विरुद्ध ९१ लाख भ्रष्टाचारको मुद्दा दायर
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगभर्नर तिलक रावल विरुद्ध ९१ लाख भ्रष्टाचार गरेको ठहर गर्दै विषेश अदालतमा मुद्दा दायर भएको छ।
आयोगले पूर्वगभर्नरसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । पूर्व गभर्नर रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध कुल २ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरूविरुद्ध जनही ९१ लाख ९ हजार रुपैयाँ बिगो कायम गरिएको छ। नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा १० रुपैयाँ दरको ५ करोड थान पोलिमर नोट छपाई गर्दा अष्ट्रेलियाका स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङमा अष्ट्रेलियासँग मिलेमतो गरी गैरकानुनी रुपमा नोट छपाइ गरेको आरोप लागेको थियो ।
बोलपत्र पूर्व नै राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधीबीचका निरन्तर पत्राचार हुने लगायतका गलत गतिविधि भएको अख्तियारद्धारा दायर आरोपपत्रमा उल्लेख छ।
परल मूल्य प्रति हजार ६८ अष्ट्रेलियन डलरबाट ४ अष्ट्रेलियन डलर बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्याएको विशेष अदालतमा दायर आरोपत्रमा उल्लेख छ।