महासमिति बैठक पार्टी कार्यलय सानेपामा बिहान ११ बजे देखि सुरु
काठमाडौ- नेपाली कांग्रेसको विधान मस्यौदा शनिबार पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने भएको छ। लामो छलफलपछि केन्द्रीय समिति बैठकबाट शुक्रबार पारित भएको विधान मस्यौदा शनिबार महासमिति बैठकमा पेश गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
केन्द्रीय समिति बैठकबाट पारित भएपछि गएराति नै विधान मस्यौदा छपाइका लागि प्रेसमा पठाइएको शर्माले बताए। विधान मस्यौदा दुई हजार प्रति छाप्ने तयारी भएको छ। सुरुमा पाँच सय प्रति छापेर महासमिति बैठकमा छलफल सुरु गर्ने र बाँकी छापिइसकेपछि सबै महासमिति प्रतिनिधिलाई बाँडिने प्रवक्ता शर्माको भनाइ छ ।
महासमिति बैठक पार्टी केन्द्रिय कार्यलय सानेपामा बिहान ११ बजे सुरु हुनेछ । शीर्ष तहमा विधानमा सहमति नभएपछि महासमिति बैठक लम्बिँदा केही प्रतिनिधि आक्रोशित बनेर घर फर्किएका छन्।
महासमितिमा अब छलफल गरिने विधान पारित गरेर आइतबारसम्म बैठक सक्ने काँग्रेसको तयारी छ । अब कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष रहने भएका छन्।
संविधानको धारा ४२ अनुसार सबै जातजाति, क्षेत्रको प्रतिनिधित्व हुने गरी ‘क्लस्टर’ कायम गरेर आठ सहमहामन्त्री राख्ने गरी केन्द्रीय समितिमा सहमति जुटेको हो ।