सीविकाका कविताहरु

कृति समीक्षा

सीता विष्ट कार्की (सीविका) रिब्दीकोट गाउँपालिका डबका पाल्पामा जन्मी हाल टोखा नगरपालिका ९ गोंगबु, काठमाडौंमा स्थायी रुपमा बसोबास गर्दै कविता, उपन्यास, गजल, हाइकु, मुक्तक र बालकथा लगायत विभिन्न विधाका नौ वटा कृतिहरु प्रकाशित गरिसकेकी स्थापित सशक्त नारी हस्ताक्षर हुन् । आँसुका फूल (२०६७), कलेज डायरी (२०७४) र संस्मरणका पाईलाहरु (२०७४) उनका तीनवटा प्रकाशित कविता सङ्ग्रहहरु हुन् । यिनै कविता सङ्ग्रहहरुका विषयमा यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।
१. आ“सुका फूल (कविता सङ्ग्रह)


यो सीविकाको प्रकाशित पहिलो कृति हो । ममतामयी माता यमकुमारी बिष्ट स्वर्गीय भएपछि शोकमा डुविरहेको बेलामा कोरिएको कविता सङ्गालो हो । यस सङ्ग्रह भित्र ३५ वटा कविताहरु रहेका छन् । सबै कविताहरु गद्य शैलीमा रचिएका छन् । ‘आमा तिम्रो हालखबर बुझ्न सकिन’ शीर्षकबाट कविता शुरु हुन्छ र ‘अन्तिम संस्कार’ शीर्षकमा गएर टुङ्गिन्छ । आफ्नी आमा कोमामा परेदेखि चितामा जल्दै गर्दा र अन्तिम संस्कार गर्दा सम्मको शोकाकुल दैनिकीलाई कवितामा प्रस्तुत गरिएको छ । यो आमाको सम्झनामा लेखिएको शोक काव्य हो र यसलाई कवितात्मक शोक कथा पनि भन्न सकिन्छ , किनकी दुखका कथाहरु, मनका पीडाहरु धाराप्रवाह रुपमा रहेका छन् ।

२. कलेज डायरी (कविता सङ्ग्रह)


गौरी पव्लिक रिलेसन एन पव्लिकेसनद्वारा प्रकाशित सीविकाको कविता सङ्ग्रह ‘कलेज डायरी’मा एकतीस वटा कविताहरु संग्रहित रहेका छन् । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा आई.एस्सी. अध्ययनरत हुँदा कविता प्रतियोगितामा पुरस्कृत भएपछि पाएको डायरीमा लेखिएका तत्कालिन कविताहरु यस सङ्ग्रह भित्र रहेका छन् । विशेषत २०४२ साल देखि २०४७ सालभित्र रचिएका कविताहरु छन् । किशोरवस्थामा लेखिएका कविता भएता पनि अनुभूतिमा व्यापकता पाइन्छ । दामोदर ढकाल ‘दीपक’को प्रकाशकीय, तिलकप्रसाद लुइँटेल, डा. शैलेन्दुप्रकाश नेपाल र त्रिभुवन बहुमुखी क्याम्पस , पाल्पाका क्याम्पस प्रमुख जीवनबहादुर थापाको शुभकामना र डा. घनश्याम परिश्रमीको भूमिका रहेको कृतिमा राष्ट्र कवि माधवप्रसाद घिमिरेले दिएको शुभकामना यस्तो रहेको छ ः “ कलेज डायरी नामक सङ्ग्रहको निम्ति कवि सीता बिष्ट कार्की (सीविका) प्रति हार्दिक शुभकामनाका साथै निरन्तर सिर्जना र यस्तै सङ्ग्रहको रचना गरिहनको निम्ति शुभकामना व्यक्त गर्दछु ।”

३. संस्मरणका पाइलाहरु (कविता सङ्ग्रह)


सीविकाको अर्को प्रकाशित कविता सङ्ग्रह संस्मरणका पाइलाहरु हो । पिता लीलाबहादुर बिष्ट र माता स्व.यमकुमारी विष्टमा समर्पित कविता सङ्ग्रहमा २६ वटा गद्य कविताहरु संग्रहित रहेका छन् । ‘समयको डायरी’ शीर्षकमा पहिलो कविताबाट शुरु भई अन्तमा ‘पाल्पाको ताजमहल’ शीर्षकमा कविताको अन्त्य हुन्छ । आफ्नो जन्मभूमि , मातृभूमि सबैलाई प्यारो लाग्छ । सीविकाले यस संग्रहमा आफ्नो जन्मभूमि डबका, रिब्दीकोट पाल्पालाई आँखा, मन,मुटु, मस्तिष्क भरी पिएकी छिन् र मीठो कवितात्मक शैलीमा प्रस्तुत भएकी छिन् ।
त्रिभुवन विश्वविद्यालयबाट एम.पी.ए., एम,वी.ए., एम.ए. र एम.फिल उत्र्तीण गरी हाल विद्यावारिधीमा शोधरत सीता बिष्ट कार्की (सीविका) लिङ्कन कलेज गोङ्गबु, काठमाडौंमा प्राध्यापनरत छिन् । विभिन्न साहित्यक संस्थाको आजीवन सदस्य, हातेमालो साहित्य प्रतिष्ठान र साहित्यकार खेलकुद समाजको सदस्य, गोङ्गबु साहित्य समाज काठमाडौंकी उपाध्यक्ष समेत रहेकी सीविकाका कविताहरुमा विशेषत निम्न भाव÷कथा÷सन्देशहरु पाइन्छन् ः
भाषागत सरलता र प्रस्तुतीमा विविधता रहेका छन् । अधिकांश कविताहरु माता पिता, गुरु र जन्मभूमि प्रति समर्पित रहेका छन् । कवितामा मातृभूमि, भू –प्रकृति, संस्कृति, परम्परा, माया ममता, स्नेह, वात्सल्यता, अध्ययन क्षेत्र, नैतिकता, मूल्य मान्यतालाई कथ्य विषयवस्तु बनाइएको छ । कविताले माता, पिता, गुरु र अग्रजहरुको सम्मान गर्न सिकाएको छ । जीन्दगीमा थुप्रै पीडा सहनु पर्दछ । अभिभावक नहुनुको पीडा झनै दर्दनाक हुन्छ । हिलोमा कमल फूलेसरी हाम्रो जीवन फुलाउन सक्नुपर्दछ । जीवन समस्या ग्रस्त छ, तर प्राप्तिका लागि संभावनाका ढोकाहरु प्रशस्तै छन् ।
कविता मार्फत व्यक्तिको मनभित्र, समाज अनि राष्ट्रका लागि सुख, शान्ति र समृद्वि खोजिएको छ । आचार संहिताको पालना गर्न लगाउँदै मानवतावादी चेतनाको जागृत गराइएको छ । उनका कविताहरुमा समय बोलेको छ । अधिकांस कविताहरुमा हिजो, आजको रुपमा बोलिएको छ र भविष्यका लागि सन्देशमूलक रहेका छन् । सीविकाले जीवनका अनुभूतिका प्रहरहरुलाई नै सुत्रात्मक रुपमा तीनवटै कृतिमा प्रस्तुत गरेकी छिन् ।
निष्कर्षमा भन्नुपर्दा कविता संग्रह ‘आँसुका फूल’ शोक काव्य हो । यसले मातृत्वको ऋण तिर्न सकिदैन र पनि सन्ततीहरुले दूधको भारा तिर्ने भरमग्दुर प्रयास गर्नुपर्दछ भन्ने कालजयी सन्देश प्रवाह गरेको छ । ‘कलेज डायरी’ले प्रत्येक विद्यार्थीहरुको किशोरवस्थालाई झल्काएको छ । पुरस्कार पाए पछि मान्छे गौरवान्वित हुन्छ र नवीनतम सिर्जनामा लाग्छ भन्ने सन्देश दिनुका साथै पूर्व स्मृतिहरु पनि वर्तमानका लागि रोचक र भविष्यका लागि शिक्षाप्रद हुन सक्छन् भन्ने सन्देश दिएको छ । जन्मभूमि र मातृभूमि भन्दा ठूलो र प्यारो अरु केही हुँदैन भन्ने यथार्थ भावमय सन्देश कविता संग्रह ‘संस्मरणका पाइलाहरु’ ले दिएको छ । सबै कविता कृतिहरु संग्रहणीय र पठनीय छन् । कविता प्रति रुचि राख्नेहरुले एक पटक सीविकाका कविताहरु मागेर, खोजेर वा किनेर भए पनि पढ्नु उपयोगी छ । आगामी दिनमा अझ सशक्त कृतिहरु प्रकाशित हुँदै जाउन भन्ने शुभकामना दिन चाहन्छु ।