बालश्रमिक बढ्दै
गुल्मी । पछिल्लो समय गुल्मी जिल्लामा पनि बालश्रमिकहरुको प्रयोग बढीरहेको भन्दै जिल्ला बालसञ्जाल गुल्मीले अनुगमनलाई तिव्रता दिएको छ । सदरमुकाम तम्घासका विभिन्न होटल तथा पसलहरुमा गत शनिवार र आइतबार गरीएको अनुगमनका क्रममा २० जना बालश्रमिक फेला परेका छन् । पहिलो दिन १५ जना बालबालिका विभिन्न होटल रेष्टुराहरुमा भाडाँ माझ्ने, कपडा धुने, खाना बनाउने, खान दिने जस्ता काम गरीरहेको अवस्थामा फेला परेको जिल्ला बालसञ्जाल गुल्मीका अध्यक्ष सुमन पन्थीले बताउनुभयो ।
‘हामी निरन्तर छड्के अनुमनमा छौँ, बालश्रमिक राख्न पाईँदैन् ।’ उहाँले भन्नुभयो ‘जसरी हुन्छ जिल्लामा बालश्रमिक प्रयोग गर्न नदिने तर्फ अहिले जिल्ला बालसञ्जालले आफ्नो कार्यलाई अगाडि बढाएको छ ।’ अनुगमनको पहिलो दिन भेटिएका १५ जना मध्ये ४ जना १३ वर्ष भन्दा मुनीका बालबालिका भएकाले अभिभावक बोलाई जिम्मा लगाईने बाल सञ्जाल गुल्मीले जनाएको छ । भने बाँकी रहेका ११ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराई १८ वर्ष उमेर नपुग्दा सम्म पढाउने निर्णय समेत भएको छ ।
जिल्ला बाल सञ्जालकाका अध्यक्ष सुमन पन्थीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल,मानव अधिकारकर्मी गणेश श्रेष्ठ, होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कंडेल लगायतको सहभागीताा भएको बिशेष बैठकले सो निर्णय गरेको हो । बैठकलाई सम्बोधन गदै प्रजिअ पौडेलले बालसञ्जालाई जिल्ला प्रशासनको तर्फबाट गर्न सक्ने सहयोगप्रति आफु प्रतिवद्ध रहेको बताउँदै अनुगमनलाई तिव्रता दिन पनि जोड दिनुभएको थियो । होटल व्यवसायी मञ्चका अध्यक्ष कंडेलले अब होटल व्यसायीहरुलाई बालश्रमिकको प्रयोग नगर्न आग्रह गदै बालश्रमिकको अन्त्यका लागि सरोकारवाला सबै प्रभावकारी ढङ्गबाट लाग्नु पर्ने बताउनुभएको थियो ।
मानव अधिकार अधिकृत श्रेष्ठले बालबालिकाहरुलाई श्रमिकको रुपमा प्रयोग गरीनु दुःखद पक्ष भएको बताउँदै यस तर्फ सबै सचेत बन्नुपर्ने बताउनुभएको थियो । बालश्रमिकहरु होटलमा मात्र नभएर अन्य सडकनिर्माण,घरनिर्माण,उद्योग कलकारखाना लगायतका क्षेत्रमा बढी प्रयोग भईरहेको पनि देखिएकाले अहिलेको अवस्थामा यो लज्जाको विषय भएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय गुल्मीका महिला तथा बालबालिका मुद्धा फाँटमा कार्यरत यशोदा खनालले बालसञ्जालले चालेको कदम सकरात्मक भएको भन्दै आवश्यक सहयोगका लागि आफुहरु सदैव तत्पर रहेको बताउनुभयो । अटेर गरे कार्वाहीका लागि पछि नहट्ने पनि बताउनुभएको थियो । भने बैठकमा सहभागी व्यवसायीहरुले बालश्रमिक आफुहरुले पनि नराख्ने र कसैले राखेको पाए तुरुन्त जानकारी गराउने प्रतिवद्धता जनाएका थिए । बैठकको सञ्चालन कोषाध्यक्ष प्रकृति आर्चार्यल गर्नुभएको थियो ।