पूर्वराजा र अध्यक्ष थापाबीचको भेटले राजनीतिमा तरंग
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच शुक्रबार पोखरामा भेटवार्ता भएको छ । १५ दिने भ्रमणका क्रममा पोखरा बसेका पूर्वराजा शाह र पार्टी कार्यक्रमको सिलसिलामा पोखरा आएका थापाबीच दोबिल्लास्थित माउण्ट ग्लोरी होटलमा भेटवार्ता भएको हो ।
सवा घण्टाको कुराकानीमा पूर्व राजा शाहले देशका समसामयिक विषयमा चासो राख्नु भएको र देशको बिग्रदो अवस्थाप्रति चिन्ता व्यक्त गर्नु भएको बताइएको छ ।
राप्रपा अध्यक्ष थापाले राप्रपाले हिन्दु राष्ट्र, राजसंस्था पुनस्र्थापना र संघीयता खारेजीलगायतको माग राख्दै फागुन ७ गतेदेखि जनसंघर्ष गर्न लागेको जानकारी गराएको बताइएको छ । भेटमा अध्यक्ष थापाले तीन राप्रपाबीच चलिरहेको पार्टी एकीकरणमा देखिएको समस्या र हुनसक्ने सम्भवानाबारे पनि जानकारी गराएको बताइएको छ ।
पूर्वराजा शाह पुस २ गते १६ दिनका लागि पोखरा आएका हुन् भने राप्रपा अध्यक्ष थापा बिहीबार पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण तथा सम्मेलनमा सहभागी हुन आएका हुन् ।
पूर्वराजा शाह र राप्रपा अध्यक्ष थापाबीचको भेट वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यो भेटसँगै राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ भने विभिन्न विश्लेषकहरुले आआफ्नो तरिकाले विश्लेषण समेत गरेका छन् । कसैले यो भेटघाटलाई सामान्य मानेका छन् भने कसैले अर्थपूर्ण रुपमा लिनुपर्ने बताएका छन् ।
हिन्दु धर्मप्रति आस्था राख्ने भारतका प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मको बाक्लो नेपाल भ्रमण र नेपाली कांग्रेस भित्र समेत हिन्दु राष्ट्रका पक्षमा चर्को माग उठिरहेको बेला पूर्वराजा र थापाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेर्नुपर्ने कतिपयको विश्लेषण छ ।
हिन्दु राष्ट्र स्थापनाको संघर्ष फागुन ७ बाट
पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता अघि पोखरामा पत्रकारहरुसँग कुरा गर्दै थापाले नेपालमा राजतन्त्र सहितको हिन्दु राष्ट्र एक मात्र विल्कप भएको बताउँदै राप्रपाले हिन्दु राष्ट्र स्थापनाको लागि फागुन ७ देखि जनसंघर्ष सुरु गर्ने उद्घोष गरेका थिए ।
संघर्षको तयारी स्वरुप सात वटै प्रदेशमा पार्टी प्रशिक्षण कार्यक्रम चलिरहेको वताउँदै थापाले आम नागरिकको चाहाना नै हिन्दु राज्य र राजसंस्था भएको पुष्टि हुँदै गएको वताउँदै नेपालमा राजसंस्था आएरै छोड्ने दावी पनि गरेका थिए ।
कमजोर राज्य ब्यवस्थाका कारण विगत केही वर्ष यता योजनाबद्ध र संगठित रुपमा धर्म परिवर्तन गराउने काम भइरहेको बताउँदै क्रिश्चियनहरुले हिन्दुप्रति वितृष्ण फैलाउँदै १२ लाख धर्म परिवर्तन गरेको अनुमान रहेको बताएका थिए । सदियौँदेखि कायम रहँदै आएको सामाजिक, सांस्कृतिक सद्भाव खल्बलिन सक्ने भन्दै उनले आम हिन्दुहरुलाई सचेत रहन आग्रह पनि गरेका छन् ।
नेपालको राष्ट्रिय पहिचान र एकताको आधार सनातन धर्म र संस्कृति भएको बताउँदै थापाले धर्मसंस्कृति खतरामा पर्दा देश समेत खतरामा पर्ने चेतावनी दिएका छन् ।
थापाले नेपाली कांग्रेसको महासमिति बैठकमा केही नेताहरुले हिन्दु राष्ट्रको पक्षमा बोलेको र हस्ताक्षर अभियान नै चलाएको बताउँदै ढिलो चाँडो कांग्रेस हिन्दु राष्ट्रको एजेण्डामा आउने विश्वास ब्यक्त गरेका छन् ।
पूर्वमन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको संयोजकत्वमा यूनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको एसिया प्यासिफिक समिट नामको इसाई धर्म प्रचार कार्यक्रममा राज्यकोषबाट करिब १५ करोड रुपैयाँ खर्च गरिनु र सरकारले सक्रिय सहभागीता जनाउनु आपत्तिजनक भएको पनि बताए ।