पराम्परागत रूपमा बजाइने पञ्चेबाजा हराउँदै
भोजपुर-विवाह तथा विभिन्न समारोहमा बजाइने पञ्चेबाजा पछिल्लो समयमा आएर लोप हुन थालेको छ । बजारमा आधुनिक बाजाको आगमनसँगै पराम्परागत रूपमा बजाइने मौलिक लोक संस्कार र संस्कृत बोकेको पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ ।
जिल्लामा विगतमा सयौँको सङ्ख्यामा रहेका यसका वाद्यवादक अहिले सीमित मात्रामा रहेका छन् । त्यो पनि वृद्धवृद्धा मात्र । नेपालीको मौलिकता झल्काउने पञ्चेबाचा बजाउने सीप सिक्न युवा पिँढीले नचाहँदा बाजा नै लोप हुने अवस्थामा पुगेको टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्णका स्थानीयवासी नीरबहादुर परियारको भनाइ छ ।
मैले विगत ६० वर्षदेखि पञ्चेबाजा बजाउँदै आएको छु तर पछिल्लो समय विभिन्न खाले आधुनिक शैलीको बाजाका कारण हाम्रो पुख्र्यौली बाजा बजाउने पेशा हराउँदै गएको छ ।अहिले युवायुवतीले बाजा बजाउन नचाहने गरेकाले बाजा नै सङ्कटमा परेको उनको भनाइ छ । पहिला त धेरै थियौ,अहिले यो गाउँमा हामी चार-पाँच जना बूढापाका मात्र छौँ ।
पञ्चेबाजामा नरसिङ्गा, दमाहा, सनही लगायतका बाजाको प्रयोग हुने गरेको छ । अहिले गाउँघरमा यस्ता बाजा नै पाउन कठिन छ । विगतमा विभिन्न बाजाको निर्माण स्थानीयस्तरमा हुने गरेको भए पनि यतिबेला त्यस्ता खालका बाजा बनाउने सीप भएका मानिस नभएपछि बाजा लोप हुदै गएको स्थानीयवासीको भनाइ छ ।
स्थानीय सरकारसँगै राज्यले नै पञ्चेबाजाको संरक्षण गर्नुपर्ने बलबहादुर परियारको भनाइ छ । बाजा बनाउने मान्छे पनि छैनन्, बाजा पाउन गाह्रो छ, स्थानीय सरकारले कुनै नीति तयार गरेर संरक्षण गरे अर्को पुस्तामा लैजान सकिन्थ्यो होला ।
विशेष गरेर यो बाजा सीमित जाति समूहले मात्र बजाउने गरेकाले यसको संरक्षणको लागि सबै पक्षले पहल गरेर अन्य समुदायमा पनि बाजा बजाउने सीप हस्तान्तरण गर्नुपर्ने स्थानीय समाजसेवी बद्रीप्रसाद अधिकारीले बताए । संरक्षणका लागि यस क्षेत्रमा लागेका व्यक्ति तथा समुदायलाई प्रोत्साह गर्र्दै अन्य जातिका मानिसले पनि सिक्न आवश्यक देख्छु, उनले भनाइ छ ।