लागुऔषध सहित दुईजना पक्राउ
काठमाडौं-महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ कपनस्थित सरस्वती नगरबाट अवैध लागुऔषध ब्राउन सुगर र विभिन्न सामग्रीसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर मङ्गलबजार बस्ने इलाम रुवाङ गाउँपालिका-६ का २६ वर्षीया अञ्जु प्रधान र काठमाडौँ नागार्जुन बस्ने रौतहट चन्द्रपुर नगरपालिका-६ का ३१ वर्षीय चेतराज शिवकोटी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरूको साथबाट ब्राउन सुगर आठ दशमलव ७५ ग्राम, विभिन्न किसिमका मोबाइल तीन थान, लागुऔषधमा प्रयोग गर्ने मेसिन एक थान र नगद रु २५ हजार बरामद भएको प्रहरीले जनाएको छ ।
लागुऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ उनीहरूलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
।