निर्मला हत्या प्रकरण : प्रदीप रावल पनि थुनामुक्त

काठमाडौं- जिल्ला प्रशासन कार्यालय,काठमाडौंले निर्मला हत्या प्रकरणमा पछिल्लो पटक मुख्य शंकास्पदको रुपमा प्रस्तुत गरिएका युवा प्रदीप रावल थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा उनीमाथि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले मुद्दा चलाएको थियो । अभद्र व्यवहारका विषयमा अनुसन्धान गर्न उनीमाथि म्याद थप गरिएको भए पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीमाथि निर्मला हत्या प्रकरणमा अनुसन्धान गरिरहेको थियो ।उनीमाथि प्रहरीले ४ पटक म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । उनलाई पक्राउ गरेपछि पहिलो पटक ७ दिन, त्यसपछि ३ पटक ५ दिन म्याद थप भएको थियो ।

उनले बयानमा निर्मलाको हत्यामा संलग्न भएको स्वीकारेको प्रहरीले दाबी गरेको थियो । रावलले साबिती बयान दिएको खबर पाएलगत्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वयम् पनि राति नै उनको बयान लिन सीआईबी पुगेका थिए ।

यसअघि रावलको बयानका आधारमा नियन्त्रणमा लिइएको भनिएको अर्का युवा विशाल चौधरी पनि छुटिसकेका छन् । उनले प्रहरीले धम्की दिएर आरोप स्वीकार्न लगाएको दाबी गरेका थिए ।