एम्बुलेन्स हस्तान्तरण

डोटी- डोटीको जोरायल र बडीकेदार गाउँपालिकाले स्थानीयवासीको स्वास्थ्य सेवाका लागि एम्बुलेन्स पाएका छन् ।

उक्त दुई वटा गाउँपालिकामा एम्बुलेन्स नहुँदा स्थानीयवासीलाई छिटो, छरितो स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको भन्दै नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा डोटी जोरायल गाउँपालिका-५ गड्सेराका स्थानीयवासी आनन्द विष्टको पहलमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

एक गाउँपालिकामा रु ११ लाख गरी दुई गाउँपालिकाको लागि कुल रु २२ लाखको लगानीमा आफूले पहल गरी एम्बुलेन्स सहयोग हस्तान्तरण गरेको काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विष्टले जानकारी दिए । एम्बुलेन्स नहुँदा जनतालाई समस्या भयो भन्ने जानकारी पाएकाले मैले आफ्नै पहलमा दुई वटा एम्बुलेन्स खरीद गरेर हस्तान्तरण गरेको छु, उनले जानकारी दिए ।

विष्टले जोरायल गाउँपालिकामा शुक्रबार एक कार्यक्रमका बीच एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो भने अर्को बडीकेदार गाउपालिकाको एम्बुलेन्स आज गाउँपालिकाकै कार्यालय खड्यौलीमा पुगेर हस्तान्तरण गरेका हुन । डोटी जोरायल गाउँपालिका-५ गड्सेरका स्थानीयवासी  काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विष्ट अमेरिका बस्छन।