खैरो हेरोइनसहित चार जना पक्राउ

बनियानी-लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाका छुट्टाछुट्टै स्थानबाट  २२३ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका-५ बाट पाँचथर घर भई दमक-६ मा डेरा गरी बस्ने ३६ वर्षीय सङ्ग्राम लिम्बूलाई शनिबार दिउँसो ३१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

लिम्बूको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका-१० मा डेरा गरी बस्दै आएका ४२ वर्षीय भीमबहादुर अधिकारी, उनकी श्रीमती ३८ वर्षीया ओममाया खतिवडा अधिकारी र साली कचनकवल-२ की ३६ वर्षीया रेवतीमाया डाँगीलाई पक्राउ गर्नुका साथै उनीहरुको साथबाट २०२ ग्राम बरामद गरिएको हो । प्रारम्भिक अनुसन्धानमा उनीहरुले लागुऔषध बिक्री-वितरण गर्ने गरेको खुलेको प्रहरी प्रमुख ढकालले बताए ।