जनताको करबाट कारः प्रमुख अधिकृतहरु चढ्छन् ६५ हजार भाडाको कार

बुटवल । यति वेला कर्मचारीहरु सरकार विरुद्ध आन्दोलित छन् । आन्दोलन संगै राज्यको सुविधा लिएर विलासी पनि बनिरहेका छन् । गाउँपालिकाले ५०÷६० लाख मुल्यको गाडी खरिद गरी सके पछि पनि प्रमुख प्रशासकीय अधिकृतले जनताको करबाट उठेको रकमले भाडामा चिल्लो कारमा सयल गरेर मस्ती गरी रहेका छन् ।
त्यसको पुष्ट्याई गर्न कुनै ठुला नगरपालिका र धेरै टाढा पनि जानु पर्दैन । प्रदेश ५ को अस्थाई राजधानी बुटवल नजिकै कञ्चन गाउँपालिका र गैडहवा गाउँपालिकामा पुगे हुन्छ । त्यहाँका प्रमुख प्रशासकीय अधिकृतहरुले मासिक ६० देखि ६५ हजार सम्म भाडामा कार लिएर चढ्दै आएका छन् । गैडहवाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले मासिक ६० हजार भाडामा कार चढ्दै आएका छन् भने कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले मासिक ६५ हजार भाडा तिरेर कार चढ्दै आएका छन् ।
कञ्चन गाउँपालिका प्रमुख गोकर्णबहादुर क्षेत्री भन्छन्–‘चैत्र महिनामै ४९ लाख ६५ हजार मुल्यमा नयाँ गाडी किनेको हो, हामी सवै जना त्यसै गाडीमा चढ्छौ । त्यस अघि मैले भाडामा लिएको कार यस अघिका प्रमुख प्रशासकीय अधिकृत बलराम अर्यालले चढ्दै आउनु भएको थियो । उहाँको अवकास पछि त्यो कार फिर्ता गरियो । अहिलेका प्रमुख प्रशासकीय अधिकृत पन्थी आए देखि चढ्नु भएको थिएन । अहिले जाडो बढे पछि कार भाडाका लागि मलाई भन्नु भयो र हुन्छ भनेर चढ्दै आउनु भएको छ ।’
प्रमुख प्रशासकीय अधिकृत पन्थी भन्छन् –‘म आए देखि कार चढेको थिईन । तर जाडो बढ्यो म बुटवलको शंकर नगरबाट आवत जावत गर्न गाह्रो भए पछि गत १५ दिन देखि मात्र भाडामा कार ल्याएर चढ्न थालेको हुँ । उनले गाउँपालिका प्रमुख लगायत चढ्ने गाडीले पनि आफुलाई समेत पुग्ने बताउँदै भने –‘तर गाउँपालिका प्रमुख र मेरो बाटो उल्टो परेका कारण कार भाडामा लिनु परेको हो ।
त्यसका अलवा सरदर मासिक ४० हजार सम्म ईन्धन खर्च उठ्ने त्यस गाउँपालिकाका लेखा अधिकृत लक्ष्मण पाण्डेले बताए । गाउँपालिका प्रमुख क्षेत्रीले त्यस गाउँपालिकाका पाँच वटै वडाका वडाध्यक्षहरुलाई मोटरसाईकल खरिद गरेर दिईएको, मासिक २० लिटर सम्म तेल दिने गरेको बताए । उनले भने–‘मितब्ययी बन्न खोज्दा पनि सकिएको छैन, संचारमाध्यमबाटै कुरा उठे पछि खर्च कटौती गर्ने तिर लाग्ने छु, प्रमुख क्षेत्रीले भने–उहाँको गाडी एकादुई महिनामा हटाई दिन्छु ।’
गैडहवाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले नयाँमिल निवासी प्रेमबहादुर रानाको बा ७ च ७१९३ नम्वरको कार भाडामा लिएर चढ्दै आएका हुन् । ईन्धन बाहेक गत २१ महिनाको अन्तरालमा उनले चढ्दै आएको कारको कुल भाडा मात्रै १२ लाख ६० हजार रुपैयाँ गाउँपालिकाले ब्यहोरेको छ । यसरी जनताको करबाट उठेको रकमले कर्मचारीहरु विलासी बन्दै गएको भन्दै सर्वसाधारणले आवाज उठाएका छन् ।
प्रतिकृया माग्दा उनले भने–‘मैले मात्रै होईन देशैभरका गाउँ र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले यस्तो सुविधा लिदै आए पछि मैले पनि गाउँपालिकामा निर्णय गराएर कार भाडामा लिएको हुँ, जिम्मेवारी बढ्दै गयो, कामको चाप बढेको छ । यो सुविधा त्यही रुपमा बुझी दिनु प¥यो ।’
गैडहवाका सर्वसाधारणले त्यस प्रति आवाज उठाएका छन्, तपाई त्यो आवाज सुनेर खर्च कटौती गर्ने तिर लाग्नु हुन्न ? भन्ने प्रश्नमा त्यस गाउँपालिका प्रमुख बच्चुलाल केवटले भने–‘जनताले उठाएको यो कुरा सहि हो, गाउँपालिकाले चैत्र महिनामै करिव ५१ लाखको स्कारपियो गाडी किनेको छ , त्यसैमा मिलेर काम चलाए पनि हुने हो, तर मैले के गर्ने देश नै कमचारीहरुले चलाएका छन्, मान्दैनन । अब यो बिषय उठी सके पछि मैले एक– दुई महिनामा हटाउने प्रयास गर्ने छु ।’
गैडहवाका जनताले विभिन्न शिर्षकमा घोटाला भएको आरोप लगाउँदै हिसाव किताबको विल भर्पाईको माग गरेका छन् नि ? भन्ने प्रश्नमा उनले भने–‘हो , मागेका छन् मैले कमचारीहरुलाई छर्लङ्ग पारेर देउ भनेको छु तर ढिला गरिरहेका छन् । ’
त्यस गाउँसभाद्धारा सवारी खरिद, विज्ञापन तथा सञ्चार खर्च, मेशिनरी औजार खरिद, कृषिमा खर्च गरिएको विल भर्पाइको प्रतिलिपी लिखित रुपमै माग गरेर गाउँपालिका प्रमुखलाई बुझाईएको छ । स्वयम त्यस गाउँपालिका वडा नम्वर ६ का वडा सदस्य शिवकुमार यादव लगायतले समेत विनाकुनै निर्णय मनोमानी तरिकाले काम हुने गरेको आरोप लगाउँदै छानविनको माग गरेका छन् ।
विल भर्पाइको प्रतिलिपी दिनुमा ढिलाई हुनुमा स्थानियले ‘दालमे कुछ काला हे’ को संज्ञा दिएका छन् । तर प्रमुख प्रशासकीय अधिकृतले सार्वाजनिक सुनुवाई गरेर सार्वाजनिक गर्दै आईरहेकोले सवैको विल भर्पाई माग गर्नु ब्यबहारिक नभएको प्रतिकृया दिए । गाउँपालिका प्रमुख केवटले पारदर्शी गरिएको, गाउँपालिकाको काम संग अधिकांस जनता खुशी रहेको तर केहि प्रतिपक्ष मित्रहरुले अतिरञ्जित गर्न खोजको जिकिर गर्छन् ।