राजपा चलाउन राजेन्द्र हम्मे
काठमाडौं । अध्यक्ष मण्डलको संयोजक परिवर्तन गरिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) को विवाद नेतृत्वको पुत्ला दहनको अवस्थासम्म पुगेको छ । गत मंसिर ४ गतेको वैठकले महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई वहुमतले संयोजक चयन गरेको थियो । त्यसपछि राजपामा महन्थ ठाकुर नेतृत्व तराई मधेस राष्ट्रिय पार्टी नेपाल भर्सेज राजेन्द्र महतो नेतृत्व सद्भावना पार्टी समूह बीचको किचलो बढेको छ ।
मंसिर ४ गते वहुमतले महन्थ ठाकुरलाई हटाएर महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाएपछि ठाकुर र अनिल झा रिसाएका हुन । महन्थ ठाकुरलाई नै संयोजक बनाउनुपर्ने अडानमा झा अहिले पनि उभिएका छन् ।
दुई पक्षको विवादकै कारण चार पटकसम्म वैठक बोलाइएपनि बस्न सकेको थिएन । महन्थ ठाकुर र अनिल झा उपस्थित नहुँदा वैठक वस्ने सकेको थिएन । गत बुधबार पाँचौ पटकको प्रयासपछि वैठक राजपा अध्यक्ष मण्डलको वैठक बसेको थियो । तर सो वैठकमा ठाकुर सहभागी भएपनि झा कार्यालय आएर पनि वैठक कक्षमा गएनन् । शुरुदेखि नै राजेन्द्र महतो र झाको सम्वन्ध बिग्रदै आएको थियो । महतो अध्यक्ष रहेको सद्भावना पार्टीमा झा महामन्त्री थिए । असझदारी बढेपछि उनले छुट्टै सद्भावना पार्टी बनाएका थिए ।
महतोको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको टोलीले एक हप्ताभित्र संविधान संशोधनलगायतका विषयमा सरकारले स्पष्ट धारणा नदिए सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिएर फर्किएको थियो ।
एकातिर सरकारसँग टक्कर लिन खोजिरहेको अवस्था छ भने अर्कोतिर पार्टीभित्रै चरम गुटबन्दी र असन्तुष्टि देखिन्छ । महन्थ ठाकुर समर्थक झाले राजेन्द्र महतोले नेतृत्व गर्न नसक्ने भन्दै महन्थलाई नै पुनर्वहाली गर्नुपर्ने तर्क गरेका छन् ।
कार्यकर्ताहरुले संयोजक महतोको पुत्ला दहन गरेपछि जनकपुरमा उपलब्ध केन्द्रिय समितिको आपतकालिन बैठकले प्रदेश सभाका प्रमुख सचेतक समेत रहेका सांसद परमेश्वर साहलाई समेत कारवाहीको लागि सिफारिस गर्ने निर्णयले गरेपछि राजपामा हलचल मच्चिने देखिएको छ । महतोको पुत्ला दहनमा साहको ग्राण्ड डिजाइनमा भएको आरोप लगाइएको छ ।
महतो संयोजक भएपछि एकता हुँदा निर्वाचन आयोगमा पठाइएको केन्द्रीय समितिको सूचीलाई आधिकारिक मान्दै त्यसयताका नियुक्ति र मनोनयन रद्द गर्ने निर्णय गरेपछि चर्किएको विवाद जिल्ला तहसम्म देखिन थालेको छ । गत शुक्रबार संयोजक महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजपा धनुषाको अध्यक्ष मण्डलका ६ जना सदस्यमध्ये एक देवकृष्ण मण्डललाई हटाएर विद्यार्थी नेता ज्ञानेन्द्र झा ‘ज्ञानु’लाई बनाएपछि राजेन्द्र महतोको शुक्रबार पुत्ला दहन गरिएको थियो ।
६ वटा पार्टी मिलेर राजपा बनेपनि ती नेता ६ तिर फर्किएका छन् । यसले गर्दा राजपाले उठाएका वहसका विषय कमजोर बन्दै गएको देखिन्छ भने उनीहरुका मतदाता समेत आफ्ना नेताहरुप्रति अत्यन्त असन्तुष्ट देखिन थालेका छन् । नेताहरुको आपसी विवादले राजपाको मुल विषय अर्थात संविधान संशोधनको माग समेत कमजोर हुँदै गएको छ । यसले गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही राहत भएको देखिन्छ ।
ठूला दलहरुले राष्ट्रियताको कुरा उठाउन नसक्नु र क्षेत्रीय पार्टीहरु जातीय, साम्प्रदायिक, भौगोलिक र क्षेत्रीय विवादमा अल्मलिनु दुर्भाग्यको भएको तराईका विश्लेषकहरुको तर्क छ ।
राजनीतिक जीवन शुरु गर्दा नेपालको हित भन्दा पनि दक्षिणको छिमेकीलाई बढी महत्व दिएर केन्द्रीय राजनीतिमा समेत प्रभाव फैल्याउन खोज्ने तराईका नेताहरुले राष्ट्रिय राजनीतिमा ठूलो भूमिका खेल्न सकेका छैनन् । यसले गर्दा अहिले पनि नेपाली कांग्रेस, एमाले र माओवादी पृष्ठभूमिका नेताहरु नै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चित देखिन्छन् भने राजपाको आवाज नेपालको तराईबाट मुस्किलले विहारको राजधानी पटना र भारतको राजधानी दिल्लीसम्म सुनिन्छ भन्ने तराईका विश्लेषकहरुको टिप्पणी छ ।