समृद्ध अर्थतन्त्र र आर्थिक वृद्धिको संकल्पमा ठेस लाग्ने सम्भावना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । सोमवार सार्वजनिक चालू आर्थिक वर्ष २०७५÷७६ को पहिलो चार महिनाको अर्थतन्त्रको अवस्था तथ्यांकगत रुपमा निकै कमजोर रहेको देखिएको छ । मुलुकको चार महिनाको तथ्यांकले नेपालको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख नदेखिएको अर्थविद्हरुको विश्लेषण छ ।
अर्थतन्त्रको मापनका रुपमा लिइने चालू खाता र शोधनान्तर स्थितिको विश्लेषण गर्दा मुलुकको अर्थतन्त्रको अवस्था जोखिमतर्फ उन्मुख भएको अर्थविद्हरुले बताएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामै चालु खाता घाटा ८८ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४८ अर्ब ९८ करोड रुपैयाँमा सीमित थियो ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई अर्ब ४० करोड रुपैयाँले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनामा दुई करोड २३ लाख रुपैयाँले बचतमा रहेकोमा समीक्षा अवधिमा ५० करोड ३६ लाखले घाटामा रहेको छ । यी तथ्यलाई विश्लेषण गर्दै अहिले नेपालका अर्थविश्लेषकहरुले शोधनान्तर घाटाले मुलुकको अर्थतन्त्रलाई जोखिमतर्फ धकेलिरहेको टिप्पणी पनि गरेका छन् ।
मंसिर १५ गते काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा संघीय अर्थमन्त्री डा.युवराज खतिवडाले आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न, आर्थिक समृद्धि गर्नका लागि आयात बढ्दा अतालिनु पर्ने अवस्था नरहेको बताएका थिए । उनले कस्ता बस्तु आयात भएका छन् भन्ने विषयलाई बाहिर ल्याउनु पर्ने बताएका थिए । उनको भनाईलाई मान्ने हो भने आयात बढ्दाभन्दा पनि कस्ता वस्तु आयात भइरहेका छन् भन्ने विषय मुल्यांकन गर्नुपर्छ । तर, अहिलेको अवस्थाले आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने सम्भावना देखिदैन ।
विकासे आयोजनाको काममा भएको ढिलाई, विकास बजेट खर्च नहुनु जस्ता कारणले समृद्ध अर्थतन्त्र र आर्थिक वृद्धिको संकल्पमा ठेस लाग्ने सम्भावना देखिन्छ । अहिलेकै शोधनान्तरको अवस्था अन्य चौमासिकमा समेत देखा पर्दै जाने हो भने मुलुकको अर्थतन्त्र डामाडोल हुने अर्थविद्हरुको चेतावनी छ । चार महिनामै वस्तु तथा सेवा आयात झण्डै पाँच खर्ब पुग्नुले नै चालू खाता घाटा र शोधनान्तर अवस्था कमजोर देखाउँछ ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार चार महिनामा पेट्रोलियम पदार्थ, हवाइजहाज, एम.एस. बिलेट, अन्य मेशिनरी उपकरण तथा पार्टपुर्जा, सवारी साधन तथा पार्टपुर्जा, धान चामल लगायतका वस्तुको आयात बढेको छ । सिमेन्ट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ ।
उपभोग्य वस्तुहरुको आयात तीब्र रुपमा भएको छ । उपभोग्य वस्तुहरुको आयात बढ्दा शोधनान्तर बचतमा चाप पर्दा यसले समग्र अर्थतन्त्रमै प्रभाव पार्छ । अब आयात बढ्दै गएको क्रममा आयात–निर्यातका वस्तुहरुको वर्गिकरण गरेर उपभोग्य वस्तुहरुको आयातमा उत्पादन वृद्धि गर्नेतर्फ सरकारले जोड दिनुपर्छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको ११ खर्ब दुई अर्ब ५९ करोड रुपैयाँ थियो । कात्तिकसम्म आइपुग्दा १ दशमलब ८ प्रतिशतले कमी आई १० खर्ब ८२ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोड रुपैयाँबाट कात्तिक मसान्तमा नौ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा अहिले राष्ट्र बैंकसँग कात्तिक मसान्तमा ४४ अर्ब ८६ करोडले कमी आई नौ खर्ब ४४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७५(७६ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले साढे सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
तीन खर्ब भित्रियो, ५ खर्ब बाहिरियो
रेमिट्यान्सले धानेको नेपालको अर्थतन्त्र आयातकै कारण निकै कमजोर अवस्थामा पुग्ने गरेको विगतकै तथ्यांकले वताउँछ । आत्मनिर्भर अर्थतन्त्र नहुँदा नेपालको अर्थतन्त्र नै निकै संकुचन हुन पुग्ने गरेको तथ्य अहिलेको चार महिनाको तथ्यांकले पनि देखाएको छ । चार महिनामा तीन खर्ब १२ अर्ब २६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
विदेशीने युवाहरुमा २७ प्रतिशतले घटेपनि रेमिट्यान्स भित्रने दरमा भने त्यति कमी आएको देखिदैन । यसको कारण विदेशमा कामदारको तलव बढ्नु र विगतभन्दा दक्ष कामदार बढ्दै गएकाले विदेश जाने कामदार घटेपनि रेमिट्यान्समा असर परेको छैन । तर चालू आर्थिक वर्षको पहिलो चार महिनामा झण्डै पाँच खर्ब रुपैयाँ बराबरका वस्तु तथा सेवा नेपालले आयात गरेको छ भने निर्यात एकदमै कम छ । जसले गर्दा व्यापारघाटा चुलिएको छ ।
आर्थिक वर्ष २०७५÷७६ को चार महिनामा कुल वस्तु आयात ३५.८ प्रतिशतले बढेर चार खर्ब ८३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यस तथ्यांकलाई हेर्दा रेमिट्यान्स भित्रिएभन्दा बढि रकम नेपालबाट बाहिरिएको छ ।