पुस १९ गते पूर्वाञ्चल विश्वविद्यालयको २५ औँ वार्षिकोत्सव

विराटनगर- विश्वविद्यालय स्थापना एवं सञ्चालनमा सहयोग पु¥याउने महानुभाव तथा विश्वविद्यालयमा दीर्घसेवा गर्नुभएका प्राध्यापक तथा कर्मचारीलाई सम्मान, रजत महोत्सव स्मारिकाको विमोचन, रजत महोत्सव स्तम्भ तथा माता सरस्वतीको मन्दिर उद्घाटन लगायत कार्यक्रम सहित पूर्वाञ्चल विश्वविद्यालय, विराटनगरको २५ औँ वार्षिकोत्सव एवं रजत महोत्सव २०७५ पुस १९ गते हुने तय भएको उपकुलपति प्रा डा. घनश्यामलाल दासले आज पत्रकार सम्मेलनमा जानकारी दिए ।

सरकारले ८०५ बिघा वन क्षेत्रको जग्गा उपलब्ध गराएको विश्वविद्यालयमा गोठगाउँ परिसरको समग्र शैक्षिक एवं प्राज्ञिक विकासलाई लक्ष्य गरी एमबिबिएस शैक्षिक कार्यक्रमको सञ्चालनलाई प्रमुख प्राथमिकतामा राखिएको छ । आङ्गिक क्याम्पसको विकास गर्दै लैजाने लक्ष्य राखी नौ आङ्गिक क्याम्पसको विकास एवं सम्वद्र्धनमा विश्वविद्यालय अग्रसर छ ।

रजत महोत्सवका अवसरमा विश्वविद्यालयका छ सङ्काय अन्तर्गत ८० व्यावसायिक र प्राविधिक विषयका कार्यक्रम सञ्चालन भइरहेको छ । एक सय २१ सम्बन्धनप्राप्त सम्पूर्ण क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उपकुलपति दासले जानकारी दिए ।